एजेन्सी । बार्सिलोनाका युवा स्टार अंशु फातीले नाउ क्याम्प छाड्ने कुनैपनि ईच्छा नभएको बताएका छन् ।
१७ बर्षिया युवा स्टारमाथि युरोपका ठुला क्लबले चासो राखिरहेको समय फातीले बार्सिलोनामै बस्ने ईच्छा देखाएका छन् ।
बार्सिलोनाका फातीलाई प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले अनुबन्धन गर्ने प्रयास गरेको थियो । युनाईटेडले फाती अनुबन्धनका लागि दुई ठुला प्रस्ताव गरेको थियो । उसले फातीका लागि १ सय ३५ मिलियन पाउण्डसम्म खर्च गर्न सक्ने प्रस्ताव गरेको थियो । तर क्याटलान क्लबले युनाईटेडका दुवै ठुला प्रस्तावलाई अस्विकार गरिएको छ ।
स्पेनिस एक पत्रिकाका अनुसार फाती बार्सिलोनामै बसेर नाउ क्याम्पमै आफ्नो भविष्य खोज्न ईच्छुक छन् ।
फाती युनाईटेडमात्र नभएर कुनैपनि क्लबसंग छलफल गर्न अनिच्छुक छन् । उनी स्पेनमै रहेर बार्सिलोनामा भविष्य बनाउन प्रतिबद्ध रहेको बताईएको छ ।
बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन फातीले क्लबसंग नयाँ सम्झौता गर्ने तयारी गरेका छन् ।

फातीले यस सिजन बार्सिलोनाबाट ६ गोल गरेका छन् । उनले बार्सिलोनाको शीर्ष टिमबाट २५ खेलमा प्रतिनिधित्व समेत गरिसकेका छन् ।
बार्सिलोनामा लियोनल मेस्सीको अन्त्यसंगै फातीले क्लबलाई अघि बढाउन सक्ने अपेक्षा गरिएको छ । फातीले क्विक सेटियन नेतृत्वको टिमबाट गत मंगलबार लेगानेसलाई हराउने क्रममा पहिलो गोल गरेका थिए । तर शुक्रबार सेभिल्लासंग गोल रहित बराबरी भएको खेलमा उनले बार्सिलोनाबाट खेल्न पाएनन् ।
क्लबका निर्देशक जिभियर भिलाजोआनाले समेत फातीलाई बाहिर पठाउने तयारीलाई अस्विकार गरेका थिए ।
‘अंशुको बिषय कुनै चर्चा गरिएको छैन । हामीले उनलाई बेच्ने बिषयमा बोलेका छैनौ ।’ उनले भने ।
‘हामीले एकेडेमीका खेलाडीलाई बेच्नमा प्रयोग गर्दैनौ ।’ उनले थपे ।