एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ ।
शनिबार भएको खेलमा आर्सनल ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
ब्राइटनको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २-१ को जित दिलाए ।
त्यसअघि खेलको ४० औं मिनेटमा आर्सनलका पहिलो रोजाईका गोलकिपर बर्न्ड लिनो चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।

यससँगै कोरोना भाईरसको कारण स्थगित लिग सुचारु पछि आर्सनलले लगातार दोस्रो हार व्यहोरेको छ । यस अघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।
यो हारसँगै आर्सनलले ३० खेलमा ४० अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ ।
आर्सनललाई हराउँदै ३२ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ ।
