एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न ९ खेलहरु हुँदैछ ।
बुन्डेसलिगामा शनिबार च्याम्पियन बनिसकेको बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग,बोरुसिया मन्छेनग्लाडबाख, साल्के लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
लिगको उपाधि दुई खेल अगाबै कब्जा गरिसकेको बायर्नले घरेलु मैदानमा फ्राइबर्गसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ७:१५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा बायर्न सहज जित निकाल्ने योजनामा हुनेछ । यस्तै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
गत मंगलबार भरडाआ ब्रेमेनलाई हराएर बायर्नले दुई खेल अगाबै लगातार आठौं पटक उपाधि जितेको थियो ।
त्यसैले बायर्नको लागि यस खेल धेरै महत्वपूर्ण छैन । तर, जितले दोस्रो स्थानको टिमविरुद्ध अंक फराकिलो हुनेछ ।
बायर्न दोस्रो स्थानको डर्टमण्ड भन्दा १० अंकले अघि रहेको छ । बायर्नको ७६ अंक रहदा डर्टमण्डको ६६ अंक रहेको छ ।
४५ अंक जोडेको फ्राइबर्ग आठौं स्थानमा रहेको छ ।
डर्टमण्डले शनिबार लाइपजिगसँग उसैको मैदानमा खेल्नेछ । डर्टमण्ड लाइपजिगलाई हराएर बायर्नसँगको अंक दुरी कम गर्न चाहन्छ ।
यता, लाइपजिग डर्टमण्डलाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ । घरेलु मैदानमा जित निकाले लाइपजिगले डर्टमण्डसँग अंक बराबरी गर्नेछ ।
तेस्रो स्थानको लाइपजिगको ६३ अंक रहेको छ ।
बुन्डेसलिगा अन्तर्गत नै चौंथो स्थानको बायार लेवरकुसनले हेर्था बर्लिनसँग खेल्नेछ । पाँचौं स्थानको बोरुसिया मन्छेनग्लाडबाखले पार्डाबोनसँग खेल्नेछ ।
त्यस्तै साल्केले वोल्फ्सबर्ग, माइन्जले भेरडाआ ब्रेमेन, होफेनहाइमले युनियन बर्लीन, फोर्टुना डुसलडोर्फले आउग्सबर्ग र कोल्नले आइनट्राख्ट फ्रान्कफुर्टसँग खेल्नेछ ।