एजेन्सी । ब्रुनो फर्नान्डेजको पेनाल्टी गोलसंगै म्यान्चेष्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा टोटेनहमसंग बराबरी खेलेको छ ।
शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको अन्तिम समयमा फर्नान्डेजको पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई हारबाट जोगाएका थिए र महत्वपूर्ण अंक दिलाएका थिए ।
डिसेम्बर २६ पछि पहिलो पटक पाउल पोग्बा मैदानमा देखिएका थिए । उनी करिब ६ महिना मैदानमा देखिएनन् । उनले खुट्टाको शल्यक्रिया गरेका थिए । उनी वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा राम्रो प्रभाव जमाएका थिए ।
स्टेभेन वर्गविनले २७ औं मिनेटमा गोल गर्दै टाेटेनहमलाई अग्रता दिलाएका थिए । स्टेभेनको कडा प्रहार युनाईटेडका गोलकिपर डेभिड डे हेयाले ठम्याउनै सकेनन् ।

टोटेनहमको बन्द रंगशालामा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई बराबरीमा ल्याएका थिए ।

युनाईटेडका गोलकिपर डेभिड डे हेयाले सन ह्युङ मिनको प्रहारलाई उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए । युनाईटेडका एन्थोनी मार्सियलले दोस्रो हाफमा गरेका प्रहारलाई टोटेनहमका गोलकिपर ह्युगो लोरिसले बचाउ गरेका थिए ।
युनाईटेड ४६ अंक सहित लिगको पाँचौ स्थानमा रहेको छ । उसले आठौं स्थानको टोटेनहमसंग चार अंकको अग्रता बनाएको छ । पछिल्लो नतिजासंगै युनाईटेड च्याम्पियन्स लिगको छनोटको दौडमा कमजोर बनेको छ ।
अर्काे खेलमा साउथ ह्याम्टनले नर्विच सिटीलाई ३–० ले हरायो । पाहुना टोलीको जितमा ड्यानी ईङ्स, स्टुआर्ड आर्मस्ट्रङ, नाथन रेडमोन्डले विजयी गोल गरे ।
तालिकाको पुछारमा रहेको नर्विच रेलिगेशनमा जाने सम्भावना बढेको छ । साउथ ह्याम्टन ३७ अंक जोड्दै तालिकाको १३ औं स्थानमा छ ।