एजेन्सी । टोटेनहमका फरवार्ड ह्यारी केन र विंगर सन ह्युङ मिन प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा मैदान उत्रने भएका छन् ।
कोरोना भाईरसको कारण स्थगित लिग सुचारुपछि टोटेनहमले शुक्रबार युनाइटेडसँग घरेलु मैदानमा खेल्दैछ ।
युनाइटेडविरुद्ध खेलमा केन र सन मैदान उत्रने पक्का भएको मुख्य प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् ।
लामो समय चोटबाट गुज्रिरहेका केन र सन पूर्ण रुपमा चोटबाट मुक्त भएको र मैदान उत्रन तयार भएको मोरिन्होले बताएका छन् ।
टोटेनहमका मुख्य स्ट्राइकर केन गत जनवरीमा मैदान उत्रिएका छैनन् । ह्यामिस्ट्रिङ चोटको कारण केन मैदान बाहिर रहेका छन् ।
सन कुमको चोटपछि मैदान उत्रिएका छैनन् । तर, सनले त्यसबीचमा दक्षिण कोरियामा दुई साताको सैनिक तालिम सफलतापुर्वक पुरा गरिसकेका छन् ।
यस्तै चोटका कारण मैदान बाहिर रहेका मिडफिल्डर मौसा सीसीको समेत युनाइटेडविरुद्धको खेलबाट मैदान फर्कने बताईएको छ ।
यस सिजन टोटेनहम ४१ अंक जोडेर आठौं स्थानमा रहेको छ । ४५ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा रहेको छ ।