ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

लण्डन। नेपालमा ग्रासरुट क्रिकेटको विकासको उद्देश्यसहित बेलायतमा महत्वपूर्ण छलफल भएको छ ।
नेपाली क्रिकेटको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) र किडाशाबीच छलफल भएको हो ।
छलफलमा ब्रिटिश गोर्खाली क्रिकेट लिगका प्रबन्ध निर्देशक ग्याम गुरुङले नेपाली क्रिकेटप्रति बेलायतबाट निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “नेपाली क्रिकेट हाम्रो पहिचान र गर्व हो। बेलायतमा रहेर पनि हामी नेपाली क्रिकेटको उन्नतिका लागि निरन्तर हातेमालो गर्दै जानेछौं। खेलाडी विकास, अवसर सिर्जना र अन्तर्राष्ट्रिय एक्सपोजरका लागि बीजीसीएल सधैं नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्नेछ।”
ग्याम गुरुङले बेलायतमा नेपाली क्रिकेटको संरचना क्रमशः बलियो बन्दै गएको उल्लेख गर्दै सोही अनुभव र स्रोत नेपालसँग साझा गर्न सकिए नेपाली क्रिकेटले अझ ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । उनका अनुसार बेलायतबाट प्राप्त हुने निरन्तर सहयोगले नेपाली युवा खेलाडीहरूलाई थप प्रेरणा र नयाँ सम्भावना प्रदान गर्नेछ ।
त्यसैगरी, किडाशाका कार्यक्रम संयोजक जेरेमी साउथहनले क्रिकेट खेललाई बालबालिका र युवाहरूको आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता विकास गर्ने प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे । उनले नेपालका विशेषगरी शहरी क्षेत्रमा रहेका प्रतिभावान बालबालिकालाई क्रिकेटमार्फत अवसर प्रदान गर्न किडाशा सहकार्य गर्न इच्छुक रहेको बताए ।
कार्यक्रममा सहभागी युवा क्रिकेट प्रवर्द्धक विज्ञान कार्कीले नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि ग्रासरुट स्तरबाट योजनाबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
छलफलमा बिद्यालय नेपाली क्रिकेट प्रशिक्षण कार्यक्रम, युवा क्रिकेट विकास परियोजना, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलहरू तथा दीर्घकालीन क्रिकेट संरचना निर्माणका विषयमा समेत सकारात्मक छलफल भएको छ ।
किडाशा विगत लामो समयदेखि नेपालमा बालबालिका र युवामाझ खेलकुद, विशेषगरी क्रिकेट विकासमा सक्रिय रूपमा काम गर्दै आएको संस्था हो। किडाशाले बुटवल र पोखरा जस्ता शहरमा लामो समयदेखि क्रिकेट प्रशिक्षण, प्रतिभा पहिचान र युवा विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस्तै, ब्रिटिश गोर्खाली क्रिकेट लिग बेलायतमा स्थापित एक व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रतिष्ठित क्रिकेट लिगको रूपमा परिचित छ।















