एजेन्सी । लिभरपुलका पूर्व कप्तान स्टेभेन जेरार्डले जर्मन प्रशिक्षक योर्गेन क्लोप विश्वकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् ।
अमेरिकाको पत्रिका द एथ्लेटिकसँग कुरा गर्दै जेरार्डले क्लोप उत्कृष्ट प्रशिक्षक भएको बताएका हुन् ।
'यो अन्तर्वार्ता दिदै गर्दा मलाई लाग्छ क्लोप विश्वको सर्वश्रेष्ठ प्रशिक्षक हुन्,' रेन्जर्सका प्रशिक्षक रहेका पूर्व मिडफिल्डरले भने, 'मलाई थाहा छ त्यहाँ धेरै सफल प्रशिक्षक छन् । पेप ग्वार्डीवाला असाधारण छन् । कार्लो एन्सेलोटी पनि असाधारण हो ।'
क्लोपको नेतृत्वमा लिभरपुल यस सिजन प्रिमियर लिगको उपाधि नजिक रहेको छ । ३० वर्षपछि लिभरपुल उपाधि जित्ने संघारमा रहेको छ ।
म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको लिभरपुल दुई जितले च्याम्पियन बन्नेछ ।
यस्तै गत सिजन जर्मन प्रशिक्षक क्लोपले लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।
'प्रशिक्षकको रुपमा पछिल्लो दुई वर्षको अनुभवले महसुस भयो कि कति कठिन र चुनौतीपूर्ण छ । मसँग क्लोपका लागि सम्मान बाहेक अरु केहि छैन,' लिभरपुलका पूर्व मिडफिल्डर जेरार्डले थपे ।
लिभरपुलका लिजेण्ड जेरार्डले सन् २०१५ मा क्लब छाडेका थिए । त्यहिँ वर्ष क्लोप लिभरपुल आएका थिए ।
जेरार्डले लिभरपुलका लागि ७ सय १० खेलमा १८६ गोल गरेका थिए ।