एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज (मंगलबार) उपाधि नजिक रहेको बायर्न म्युनिखले भेरडाआ ब्रेमेनको सामना गर्दैछ ।
ब्रेमेनको मैदानमा हुने घरेलु टिम र बायर्नबीचको खेल नेपाली समय अनुसार राति १२:१५ बजे सुरु हुनेछ ।
बायर्नको लागि यस खेल महत्वपूर्ण रहेको छ । किनकि ब्रेमेनको मैदानमा जित निकाले बायर्न बुन्डेसलिगा च्याम्पियन बन्नेछ ।
शीर्ष स्थानको बायर्न दोस्रो स्थानको स्थानको बोरुसिया डर्टमण्ड भन्दा ७ अंकले अघि रहेको छ ।
रेलिगेसन क्षेत्रको ब्रेमेनलाई हराएमा बायर्न लगातार आठौं पटक च्याम्पियन बन्नेछ । सन् २०१२/१३ को सिजनपछि बायर्नले लगातार बुन्डेसलिगा जित्दै आईरहेको छ ।
सर्वाधिक २८ पटक बुन्डेसलिगा जितेको बायर्न मंगलबार राति थप उपाधि आफ्नो बनाउन चाहन्छ । ब्रेमेनविरुद्ध बायर्नले सहज जित निकाल्ने अनुमान गरिएको छ ।
कोरोना भाईरसले स्थगित लिग सुचारुपछि बायर्न अपराजित रहेको छ ।
यता, ब्रेमेन भने बायर्नविरुद्ध अप्रत्यासित जित निकाल्दै रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । पुछारबाट दोस्रो स्थानमा रहेको ब्रेमेनको २८ अंक रहेको छ ।
बुन्डेसलिगा अन्तर्गत नै मंगलबार राति बोरुसिया मुन्छेनग्लाडबाखले वोल्फ्सबर्गसँग खेल्नेछ ।
त्यस्तै फ्राइबर्गले हेर्था बर्लिन तथा युनियन बर्लिनले पार्डाबोनसँग खेल्नेछ ।