एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोना र मालोर्काबीचको खेल दौरान लियोनल मेस्सीलाई भेट्न मैदान पुगेका एक फ्यानलाई कारबाही हुने भएको छ ।
ला लिगाले सुरक्षा नियम उलंघन गरेर अपराधिक कार्य गरेको भन्दै उनीविरुद्ध कानुनी कारबाही गर्ने जनाएको छ ।
कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगिन अहिले ला लिगा बन्द रंगशालामा भईरहेको छ । दर्शकलाई पस्न दिईएको छैन ।
सुरक्षाको प्रोटोकल अनुसार २ सय २९ जनालाई मात्र मैदान प्रवेशको अनुमति रहेको छ ।

तर, ती फ्यान सेक्युरिटीको आँखा छल्दै मैदान प्रवेश गरेका थिए ।
खेलको ५२ औं मिनेट चलिरहँदा उनी मैदान छिरेका थिए । उनले मेस्सी लेखिएको १० नम्बरको जर्सी लगाएका थिए ।
त्यस खेल बार्सिलोनाले ४-० ले जितेको थियो ।
सुरुवातमा जोर्डी अल्बालाई भेटेका उनी मेस्सीसँग सेल्फी खिच्ने योजनामा थिए । तर, मेस्सीलाई भेट्नुअघि नै सेक्युरिटी गार्डले ती फ्यानलाई पक्रेर मैदानबाट बाहिर निकालेका थिए ।