एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व विंगर एडनान जानुजाजले पाउल पोग्बा युनाइटेडमै बस्ने बताएका छन् ।
पोग्बाले युनाइटेड छाड्ने चर्चा चलिरहेको बेला बेल्जियमका जानुजाजले भने उनी क्लबमै रहने दाबी गरेका हुन् ।
स्पेनिस क्लब रियल सोसीडाडबाट खेलिरहेका जानुजाजले पोग्बासँग आफ्नो नजिकको सम्बन्ध भएको बताउँदै उनले क्लब नछाड्ने दाबी गरेका हुन् ।
'मलाई लाग्छ पोग्बा बस्नेछ । म र पोग्बा अझै नजिक छौँ,' उनले भने, 'हामी एक अर्कालाई चिन्छौं । हामी सानैबाट युनाइटेडका एकेडेमीमा थियौं । हाम्रो परिवार समेत साथी हो । हामी सम्पर्कमा छौँ । त्यो कहिल्लै परिवर्तन हुँदैन ।'
जानुजाज र पोग्बाले युनाइटेडको एकेडेमीमा सँगै खेलेका थिए । तर, सिनियर टोलीबाट भने दुवैले सँगै खेल्न पाएनन् ।
पोग्बा सन् २०१६ मा युभेन्ट्स गएका थिए । उनी सन् २०१६ मा क्लब फर्किएका थिए । जानुजाजले सन् २०१७ मा क्लब छाडेका थिए ।
फ्रान्सका पोग्बाले यस सिजन चोटका कारण ७ खेल मात्र खेलेका छन् ।
उनी पछिल्लो समय रियल मड्रिड जाने चर्चा चलेको छ । यस्तै उनी पुन: युभेन्ट्स फर्कने चर्चा समेत चलेको छ ।
तर, जानुजाजले भने उनी ओल्ड ट्राफोर्डमै रहने दाबी गरेका छन् ।