एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार भएको खेलमा बायर्नले बोरुसिया मुन्छेनग्लाडबाखलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा जिर्केजी र लियोन गोर्टेज्काले एक एक गोल गरे ।
मुन्छेनग्लाडबाखका लागि बायर्नकै बेन्जामिन पाभर्डले आत्मघाती गोल गरेका थिए ।
खेलको १६ औं मिनेटमा जोनस होफ्म्यानले गोल गर्दै मुन्छेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । तर, भीएआर प्रविधिले उनको गोललाई अफसाइड देखाएको थियो ।

खेलको २६ औं मिनेटमा जोसुवाले गोल गर्दै बायर्नलाई १-० को अग्रता दिलाए । ३७ औं मिनेटमा पाभर्डले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई २-१ को जित दिलाए ।
घरेलु मैदानको जितसँगै बायर्न उपाधि नजिक पुगेको छ । अब बायर्नलाई उपाधि जित्न मात्र एक जितको आवश्यकता रहेको छ ।
कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछि बायर्नको यो लगातार पाँचौ जित हो ।

यस्तै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डविरुद्ध ७ अंकको अग्रता बनाएको छ ।
बायर्नले ३१ खेलबाट ७३ अंक जोडेको छ । डर्टमण्डको ६६ अंक रहेको छ ।
लिगको चौंथो स्थानमा रहेको मुन्छेनग्लाडबाखले ५६ अंक रहेको छ ।

