एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) चार खेल हुँदैछ ।
ला लिगामा शनिबार बार्सिलोना, स्पानियोल, भिया रियल लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
लिग लिडर बार्सिलोनाले लिग सुचारुपछिको पहिलो खेलमा मालोर्कासँग खेल्दैछ ।
मालोर्काको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
रेलिगेसन क्षेत्रको मालोर्काविरुद्ध बार्सिलोना सहज जितको लक्ष्यसहित मैदान उत्रने छ ।
घरेलु टोलीलाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दुरी फराकिलो बनाउने योजनामा हुनेछ ।
लिगमा ५८ अंक जोडेको बार्सिलोना रियल भन्दा २ अंकले अघि रहेको छ । रियलको ५६ अंक रहेको छ । मालोर्का २५ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
मालोर्काको भ्रमण गर्दा बार्सिलोनाका फरवार्ड लुइस स्वारेज मैदान फर्कने सम्भावना रहेको छ । गत जनवरीमा घुँडाको शल्यक्रिया गरेका स्वारेज फिट भईसकेका छन् ।
यस्तै प्रशिक्षणको दौरान चोट बोकेका कप्तान लियोनल मेस्सी समेत फिट भईसकेका छन् ।
ला लिगा अन्तर्गत नै स्पानियोलले घरेलु मैदानमा डिपोर्टिभो अल्भेससँग खेल्नेछ ।
त्यस्तै सेल्टा भिगोले भिया रियल तथा लेगानेसले रियल भालाडोलिटसँग खेल्नेछ ।