एजेन्सी । पछिल्लो समय चोटका कारण पिरोलिएका लियोनल मेस्सी र लुईस सुआरेज मैदान फर्कन तयार भएका छन् ।
गत जनवरीमा घुडाँको शल्यक्रिया गरेको सुआरेज र थाईमा समस्या देखिएका मेस्सी ला लिगको सुरुवातमै मैदान फर्कन लागेका हुन् ।
ला लिगाको पहिलो खेलमा बार्सिलोनाले मार्लोकासंग प्रतिस्पर्धा गर्दा दुवै स्टार खेलाडी मैदानमा देखिनेछन् ।
महामारीका कारण स्पेनिस लिग करिब तीन महिना अबरुद्ध बनेको थियो । सोही कारण गत जनवरीमा शल्यक्रिया गरेका सुआरेजले निको हुने मौका पाएका थिए ।
३३ बर्षका सुआरेज कोरोनाले सिजन प्रभावित नभएको भए अर्को सिजनमात्र मैदान देखिने बताईएको थियो ।
यता ३२ बर्षका अर्जेन्टिनी स्टार मेस्सी थाईमा समस्या देखिएपछि सामुहिक अभ्यासमा देखिएका थिएनन् । उनी यसै हप्तामात्र अभ्यास सत्रमा देखिएका थिए ।
'उनले निकै राम्रो गरिरहेका छन् । उनीसंग कुनै समस्या छैन ।' मेस्सीको अवस्थाबारे जानकारी दिदै प्रशिक्षक क्विक सेटियनले भनेका छन् ।
सुआरेजको बिषयमा उनले थपे, 'हामीले सोचे भन्दा उनी राम्रोसंग तयार भए । तर लामो समय मैदान बाहिर रहदा उनी कसरी फर्कन्छन् र कसरी सुरुवात गर्छन् भन्ने मुख्य प्रश्न हो ।'
स्यामुल उम्मिटीसमेत मैदान फर्कनका लागि फिट अवस्थामा छन् । डिफेन्डर क्लेमेन्ट लेन्गलेट निलम्बित अवस्थामा छन् । सोही कारण उरुग्वेका २१ बर्षिया खेलाडी रोनाल्ड अरुजोले बार्सिलोनाबाट आफ्नो दोस्रो खेल खेल्न सक्नेछन् ।
बार्सिलोना लिगको शीर्ष स्थानमा छ । लिगमा ११ चरणको खेल बाँकी रहदाँ बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसंग दुई अंकको अग्रता लएको छ ।