एजेन्सी । कोरोना भाईरसका कारण युरोपको शीर्ष डिभिजनको लिग करिब तीन महिना बन्द जस्तै रह्यो । विश्वभर लकडाउनको अवस्था बन्यो । तर युभेन्ट्स स्टार रोनाल्डो तीन महिना मैदानमा नदेखिएपनि मिडियामाझ चर्चामै रहे ।
कोरोना महामारीबिरुद्धको अभियानमा उनले दिएको दानदेखि उनको टपलेस फोटो सुट र होम क्वारेन्टिनको समय उनले गरेको ट्रेनिङका फोटाहरु चर्चामा रहे ।
उनै रोनाल्डो शुक्रबार भने मैदान फर्कने तयारीमा छन् । करिब तीन महिना अबरुद्ध बनेको ईटालीको फुटबलमा शुक्रबार राति सुरु हुदैछ ।
शुक्रबार सूरु हुने फुटबलमा कोपा ईटालियाको सेमिफाईनलको खेल रहेको छ । दोस्रो लेगको खेलमा एसी मिलान र युभेन्ट्स भिड्दैछन् । सोही खेलमा सबैको केन्द्रमा क्रिस्टियोना रोनाल्डो रहनेछन् ।
पहिलो लेगको खेलमा रोनाल्डोले दोस्रो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका थिए । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगको खेल युभेन्ट्सको घरेलु मैदान टूरिनमा हुदैछ । युभेन्ट्सलाई प्रतियोगिताको फाईनलमा पुर्याउनुपर्ने जिम्मेवारी रोनाल्डोमाथि रहेको छ ।

रोनाल्डोको आगमनसंगै सिरि ए फुटबलमा युभेन्ट्स थप बलियो बनेको छ । लण्डन क्लबबाट प्रशिक्षक मौरिजियो सर्री समेत आएपछि युभेन्ट्सले सुन्दर जित निकाल्ने गरेको छ । युभेन्ट्स सिरि एमा समेत शीर्ष स्थानमा छ ।
रोनाल्डो र सर्री दुवैको आखाँ च्याम्पियन्स लिगको उपाधिमा छ । दुवै युभेन्ट्सबाट सो सफलता प्राप्त गर्न चाहन्छन् । रोनाल्डोले यस सिजनमात्र लिगमा लगातार ११ गोलको कीर्तिमान कायम गरेका थिए । होम क्वारेन्टिनमा रोनाल्डोले गरेको मेहनतले उनी शारिरिक रुपमा थप शसक्त र फिट देखिन्छन् ।
रियल मड्रिडलाई कीर्तिमानी च्याम्पियन्स लिगका उपाधि जिताएका रोनाल्डोले पुन आफुलाई प्रमाणित गरेमा युभेन्ट्सका लागि च्याम्पियन्स लिग धेरै टाढा नरहेको विश्लेषण हुने गरेको छ ।
पोर्चुगाली स्टार रोनाल्डोमाथि आफ्नो टोली युभेन्ट्सलाई शुक्रबार राति कोपा ईटालियाको फाईनलमा पुर्याउनुपर्ने चुनौती छ । सेमिफाईनलको खेल युभेन्ट्सका लागि सिरि ए फुटबल अबरुद्ध सिजन पुरा गर्ने पूर्व तयारी समेत रहने छ ।