एजेन्सी । सेभिया डर्बीमा सेभियाले रियल बेटिसमाथि सहज जित निकालेको छ ।
बिहिबार राति घरेलु मैदानमा भएको खेलमा सेभियाले शहर प्रतिद्धन्दी रियल बेटिसमाथि २–० को जित निकालेको हो ।
कोरोना भाईरसको महामारीका कारण ला लिगा तीन महिना अबरुद्ध बनेको थियो । करिब तीन महिनापछि बिहिबार सुरु लिगको पहिलो खेलमा सेभियाले महत्वपूर्ण तीन अंक बटुलेको हो ।
लुकास ओक्याम्पोसले ५० औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा फर्नान्डो रेज्सले सेभियाका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

ला लिगा कोरोनाको कहरपछि युरोपमा सुरु हुने दोस्रो शीर्ष डिभिजनको लिग फुटबल हो । प्रिमियर लिग फुटबल अर्को हप्ता सुरु हुदैछ । कोरोनाको संक्रमण फैलन नदिन मार्च १० बाट लिग फुटबल रोक्का गरिएको थियो ।
जितसगै तेस्रो स्थानको सेभियाले ५० अंक जोडेको छ । उसले दोस्रो स्थानको रियल मड्रिडसंगको दुरी ६ अंकमा पुर्याएको छ ।
शीर्ष स्थानको बार्सिलोनाको ५८ अंक छ । बार्सिलोनाले लिगमा रियल मड्रिडसंग २ अंकको अग्रता लिएको छ । लिगमा शनिबार बार्सिलोना र आईतबार रियल मड्रिडले पहिलो पटक आ आफ्नो खेल खेल्नेछन् ।