एजेन्सी । ब्राजिलले सन् २०२३ मा हुने महिला विश्वकप फुटबल आयोजनाको दौडबाट हटेको जनाएको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रभावका कारण ब्राजिलले महिला विश्वकप आयोजनाको दाबीबाट नाम फिर्ता लिएको हो ।
उसले कोरोनाका कारण फिफालाई आवश्यक पर्ने बित्तिय आश्वासन दिने स्थितीमा आफु नरहेको समेत बताएको छ ।
ब्राजिल फुटबल महासंघले आफुले आयोजनाको दाबीबाट बाहिर निस्कदै कोलम्बियालाई समर्थन गर्ने बताएको हो ।
महिला विश्वकपको दौडमा अब कोलम्बिया सहित जापान तथा अष्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन् । अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्ने दाबी पेश गरेका छन् ।
दक्षिण अमेरिकी महादेशमा यसअघि कुनैपनि महिला विश्वकपको आयोजना भएको छैन । यस बिषयमा जुन २५ मा निर्णय हुने सम्भावना प्रवल रहेको छ ।
ब्राजिली राष्ट्रपति जेर बोलसोनारोले वर्तमान अवस्थामा फिफालाई बित्तिय सुनिश्चितता गर्न नसक्ने बताएका थिए । सोही अनुसार ब्राजिलले आयोजनाको दाबीबाट आफु पछि हटेको जनाएको छ ।
ब्राजिल कोरोनाबाट दक्षिण अमेरिकामा सबैभन्दा बढी प्रभावित मुलुक हो । ब्राजिलमा कोरोनाबाट अहिलेसम्म ३७ हजार भन्दा बढी मानिसको मृत्यु भईसकेको छ ।