एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारले क्लबका सहकर्मीसंग बार्सिलोना फर्कन चाहेको बताएका छन् । उनले यस सिजनको अन्त्यसंगै फ्रान्स छाडेर स्पेन फर्कन चाहेको बताएका हुन् ।
स्पेनिस पत्रिकाका अनुसार नेयमार आगामी समर ट्रान्सफरमा स्पेन फर्कनेमा विश्वस्त छन् ।
ब्राजिली स्टार नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा नाउ क्याम्पबाट पीएसजी आएका थिए । तर पेरिसमा उनले चाहेको जस्तो सफलता आत्मसाथ गर्न सकेनन् ।
बार्सिलोना अघिल्लो बर्ष नेयमारलाई पुन क्लब फर्काउन असफल बनेको थियो । बार्सिलोना सय मिलियन पाउण्डसंगै ईभान राकिटिक, जियन क्लेयर टाडिबो र उसमान डेम्बेलेलाई नेयमारसंग साट्न तयार देखिएको थियो । तर गत सिजन नेयमार भित्र्याउने बार्सिलोनाको योजना सफल हुन सकेन ।

२८ बर्षका फरवार्ड पछिल्लो समय ला लिगा फर्कने बिषयमा टिमका सहकर्मीसंग खुलेर छलफल गरिरहेका छन् । उनले आफु बार्सिलोना फर्कने सम्झौतामा चाँडै सहमती जुट्ने विश्वास समेत ब्यक्त गरेका छन् ।
नेयमार पीएसजीका नजिकका साथीसंग सम्पर्कमा छन् । कोरोना भाईरसको महामारीका बीच उनले केलियन एम्बाप्पे सहितका नजिकका साथीसंग सम्पर्कमा छन् ।
पीएसजीले गत बर्ष नेयमारलाई १ सय ८० मिलियन पाउण्ड रकम माग गरेको थियो । अब पीएसजीले १ सय ३५ मिलियन पाउण्डमा नेयमार बेच्न सक्ने बताईएको छ । पीएसजीसंग नेयमारको सम्झौता सन् २०२२ मा सकिदैछ ।
खेलाडी सरुवा बजार खुल्नु अघिनै नेयमार आफ्न सहज बहिर्गमन सुनिश्चित गर्न चाहन्छन् ।
पीएसजीले यस सिजनको लिग वानको उपाधि जितिसकेको छ । तर नेयमारले बार्सिलोना फर्कनु अघि पीएसजीबाट च्याम्पियन्स लिगको उपाधि जित्न चाहेको बताएका छन् । नेयमारले च्याम्पियन्स लिग जित्न सकेको खण्डमा बार्सिलोना फर्कने सम्भावना सहज बन्ने विश्वास ब्यक्त गरेका छन् ।

सन् २०१२ मा कतारी लगानी आएसंगै पीएसजीले खेलाडी खरिदमा ठुलो रकम खर्च गरेको छ । क्लबका अध्यक्ष नासर अल खालिफाले युरोपेली च्याम्पियनसिप जित्ने आफ्नो ईच्छालाई गोप्य राखेका छैनन् ।
पीएसजीले यस सिजन च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमण्डलाई हराउँदै क्वार्टरफाईनलको यात्रा तय गरेको छ ।
दोस्रो लेगको खेलमा जित निकाल्दै पीएसजी समग्रमा ३–२ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गरेको हो । दोस्रो लेगको खेलमा नेयमारले पहिलो गोल गरेका थिए ।