एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले आफ्नो व्यवसायिक खेल जीवनको अन्त्य रियल मड्रिडबाट सम्भावना रहेको उनका एजेण्ट जोनाथन बोर्नेटले बताएका छन् ।
बीबीसी रेडियोसँग कुरा गर्दै एजेण्ट जोनाथनले बेलको चाहना रियलमै बस्ने भएको र प्रिमियर लिग फर्कने सम्भावना कम भएको बताएका हुन् ।
'उसको जीवनशैली राम्रो छ । मड्रिड भन्दा बाहिर उसको करियर म देख्दिन,' जोनाथनले भने, 'मैले जहिले भन्दै आएको छु । मड्रिडमा उ खुसी छ ।'
वेल्सका फरवार्ड बेल सन् २०१३ मा कीर्तिमानी ८५ मिलियनमा टोटनहमबाट रियल आएका थिए । रियलका लागि उनले चार च्याम्पियन्स लिग र एक ला लिगा उपाधि जितेका छन् ।
यस्तै बेलले रियलका लागि ३/३ क्लब विश्वकप र युईएफ सुपर तथा कोपा डेल रे र स्पेनिस सुपर कप एक एक पटक जितेका छन् ।
तर, प्रशिक्षक जिनेदान जिदानसँगको खटपटको कारण पछिल्लो समय उनी बेन्चमा सिमित हुँदै आइरहेका छन् ।
यस्तै बेल प्रिमियर लिग फर्कने चर्चा चलिरहेको छ । पूर्व क्लब टोटनहम र न्युकासलले बेल अनुबन्धको लागि चासो देखाएको हल्ला चलिरहेको छ ।
तर, ३० वर्षे बेलका एजेण्ट जोनाथनले भने उनी रियलमै बस्ने बताएका हुन् ।
'बेल फिर्ता आएर प्रिमियर लिग खेल्नु अविश्वसनीय हुनेछ,' उनले थपे, ' मलाई लाग्दैन कि उनी त्यो गर्न चाहन्छन । रियलमै खेल्न पाउँदा उनी खुसी छन् ।'