एजेन्सी । स्पेनका पूर्व फरवार्ड फर्नान्डो मोरिन्टेसले गोलकिपर केलर नाभास रियल मड्रिडका लिजेण्ड भएको बताएका छन् ।
ईएसपीएनसँग कुरा गर्दै फर्नान्डोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलिरहेका नाभास रियलको लिजेण्ड भएको बताएका हुन् ।
नाभासले पाएको सफलताका कारण रियलमा इकर कासिलास जस्तै उनी पनि रियलको लिजेण्ड खेलाडी भएको फर्नान्डोको दाबी छ ।
'हाम्रो महान गोलकिपर कासिलासको विकल्पको रुपमा नाभास आएका थिए,' रियलका पूर्व स्ट्राइकर समेत रहेका फर्नान्डोले भने,'विस्तारै उसले जनताको सम्मान पाए । बेर्नाबेउको महान क्षणहरुमा उनी पनि थिए ।'
रियलमा पाँच सिजन बिताएका ३३ वर्षे नाभास गत सिजन पीएसजी गएका थिए । कोस्टारिकाका नाभासले रियलमा रहदा तीन पटक च्याम्पियन्स लिग र एक सिजन ला लिगाको उपाधि जितेका थिए ।
'म भन्छु कि उनी लिजेण्ड हुन् । उनी जस्ता खेलाडीले मड्रिडको महान क्षणहरुमा भाग लिएका थिए । कुनै दुविधा छैन उनी लिजेण्ड हुन्,' फर्नान्डोले थपे ।