एजेन्सी । अमेरिकी प्रहरीको नियन्त्रणमा मृत्यु भएका जर्ज फ्लोयडले न्याय पाउनु पर्ने भन्दै खेलको दौरान विरोध जनाएका बोरुसिया डर्टमण्डका फरवार्ड जाडोन सान्चो लगायत अन्य खेलाडीलाई कारबाही नहुने भएको छ ।
जर्मन फुटबल संघले बुधबार एक विज्ञप्ति निकाल्दै सान्चोसहित विरोध जनाउने अन्य खेलाडीलाई कारबाही नहुने जनाएको छ ।
बुन्डेसलिगा अन्तर्गत आइतबार पार्डाबोनलाई ६-१ गोल अन्तरले पराजित गरेको खेलमा सान्चो र अच्राफ हाकिमीले 'जस्टिस फर जर्ज फ्लोयड' लेखेको टिसर्ट प्रदर्शनी गरेका थिए । त्यस खेलमा सान्चोले ह्याट्रिक र हाकिमीले एक गोल गरेका थिए ।
यस्तै बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले घुँडा टेकेर सांकेतिक विरोध जनाएका थिए ।
खेलाडीले विरोध गर्न थालेपछि खेल भावना विपरित भएको भन्दै उनीहरुलाई बुन्डेसलिगाले कारबाही गर्ने तयारी गरेको थियो । तर,जर्मन फुटबल संघले उनीहरुलाई कारबाही नहुने जनाएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले समेत खेलाडीसँग एक्यबद्धता जनाएको थियो ।
फिफाले बुन्डेसलिगाका खेलाडीले गरेको कार्यलाई सजाय नभई समर्थन गर्नु पर्ने बताएको थियो ।
अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।
प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा थिचेपछि उनको मृत्यु भएको थियो ।
उनको मृत्युपछि काला जातिका मानिसलाई प्रहरीले घाँटी थिचेर मारेको भन्दै अहिले विश्वभर विरोध भइरहेको छ ।
अमेरिकामा हिंसात्मक आन्दोलन भईरहेको छ ।