एजेन्सी । बोरुसिया डर्टमण्डका स्टार स्ट्राइकर अर्लिङ हालाण्डले बुन्डेसलिगा अन्तर्गत पार्डाबोनविरुद्धको खेल गुमाउने भएका छन् ।
उपाधि दाबेदार डर्टमण्डले आइतबार लिगको पुछारमा रहेको पार्डाबोनसँग खेल्नेछ । तर, चोटका कारण हालाण्डले उक्त खेल नखेल्ने भएका हुन् ।
हालाण्डले गत मंगलबार बायर्न म्युनिखविरुद्धको खेलमा घुँडाको चोट बोकेका थिए । घरेलु मैदानमा बायर्नसँग १-० ले पराजित भएको खेलको ७२ औं मिनेटमा हालाण्ड मैदानबाट बाहिरिएका थिए ।
यस्तै मिडफिल्डर ममुड डाहुडले समेत पार्डाबोनविरुद्धको खेल गुमाउने भएका छन् । डाहुडले पनि बायर्नसँगको खेलम चोट बोकेका थिए ।
पार्डाबोनविरुद्ध सहज जित निकाल्दै डर्टमण्ड लिग लिडर बायर्नसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ । तर, पार्डाबोनको मैदानमा मुख्य स्ट्राइकर र मिडफिल्डरको अभाव डर्टमण्डलाई हुनेछ ।
डर्टमण्ड बायर्न भन्दा ७ अंकले पछि रहेको छ । बायर्नको २८ खेलमा ६४ अंक रहेको छ । डर्टमण्डको ५७ अंक रहेको छ ।