एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा आज शनिबार विभिन्न पाँच खेल हुँदैछ ।
बुन्डेसलिगामा शनिबार लिग लिडर बायर्न म्युनिखसहित साल्के,होफेनहाइम,वोल्फ्सबर्ग, आइनट्राख्ट फ्रान्कफुर्ट लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
बायर्नले घरेलु मैदानमा फोर्टुना डुसलडोर्फको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
कोरोनाको कारण स्थगित लिग सुचारुपछि लगातार दुई जित निकालेको बायर्न तेस्रो जितको खोजीमा हुनेछ ।
बायर्नले यस अघि बोरुसिया डर्टमण्ड र युनियन बर्लिनलाई हराएको थियो ।
त्यसैले उच्च मनोबलमा मैदान उत्रने बायर्न घरेलु मैदानमा जित निकाल्दै दोस्रो स्थानको डर्टमण्डविरुद्धको अंक दुरी समेत फराकिलो बनाउने योजनामा हुनेछ ।
बायर्नको २८ खेलमा ६४ अंक रहेको छ । डर्टमण्डको ५७ अंक रहेको छ । डुसलडोर्फविरुद्धको जितले बायर्नको अग्रता ७ अंकको हुनेछ ।
रेलिगेसन क्षेत्रबाट माथि उक्लिन खोजिरहेको डुसलडोर्फको २७ अंक रहेको छ । डुसलडोर्फ बलियो बायर्नविरुद्ध अप्रत्यासित नतिजाको योजनामा हुनेछ ।
यस्तै शनिबार साल्केले भेरडाआ ब्रेमेन, होफेनहाइमले माइन्ज तथा हेर्था बर्लिनले आउग्सबर्गको सामना गर्नेछ ।
त्यस्तै आइनट्राख्ट फ्रान्कफुर्टले वोल्फ्सबर्गसँग खेल्ने छ ।