एजेन्सी । जोर्गिन्होका एजेन्ट जोआओ सान्तोषले युरोपका दुई क्लब चेल्सी मिडफिल्डरलाई किन्न ईच्छुक रहेको बताएका छन् ।
लण्डन क्लबका जोर्गिन्होलाई युरोपका दुई ठुला क्लब नयाँ गन्तव्यको बिषयमा चासोका साथ हेरिरहेका छन् ।
चेल्सी मिडफिल्डर सन् २०१८ मा ईटालियन क्लब नापोलीबाट ५७ मिलियन पाउण्डमा लण्डन क्लब आएका थिए । चेल्सीले प्रिमियर लिग प्रतिद्धन्दी म्यान्चेष्टर सिटीलाई उछिन्दै जोर्गिन्हो अनुबन्ध गरेको थियो ।
मौरिजियो सर्रीले ईटालियन क्लब छाड्दै स्टामफोर्ड ब्रिज आएपछि २८ बर्षिया मिडफिल्डरलाई समेत संगै ल्याएका थिए ।
उनलाई चेल्सीमा मुख्य खेलाडीको रुपमा सर्रीले अनुबन्ध गरेका थिए । तर पहिलो सिजनमा उनी आफ्नो भूमिकामा मैदान उत्रन असमर्थ रहे ।
युभेन्ट्सको प्रस्तावसंगै प्रशिक्षक सर्री ईटाली फर्किएका छन् । सर्रीपछि लण्डन क्लब सम्हालेका फ्रान्क लाम्पार्डले जोर्गिन्होलाई मुख्य खेलाडीकै रुपमा चेल्सीमा प्रयोग गरेका छन् । उनले यस सिजन सबै प्रतियोगिताका ३२ खेलमा जोर्गिन्होलाई उतारेका छन् ।
जोर्गिन्होको चेल्सीसंगको सम्झौता सन् २०२३ मा सकिदैछ । उनलाई पछिल्लो समय युभेन्ट्सका प्रशिक्षक सर्रीले निरन्तर सम्पर्क गरिरहेका छन् ।
पछिल्लो एक बर्ष जोर्गिन्होले गरेको प्रर्दशनबाट सर्री प्रभावित छन् । सोही अनुसार जोर्गिन्हो र सर्री बीच पुन सहकार्यको सम्भावना देखिएको छ ।

जोर्गिन्होका एजेन्टले ईटाली बाहिर समेत एक क्लबले अनुबन्धमा ईच्छा देखाएको बताएका हुन् ।
‘यदी तपाई सर्रीले जोर्गिन्होलाई चाहन्छन् भनेर सोध्नु भयो भने म हो नै भन्छु । कारण उनीहरुको ईतिहासले समेत त्यही भन्छ ।’ सान्तोषले एक टेलिभिजन अन्तरवार्तामा भनेका छन् ।
‘म सरुवा बजारको बिषयमा धेरै भन्न सक्दिन । म अहिले कसैसंग सम्पर्कमा समेत छैन ।’ उनले भने ।
‘चेल्सीसंग उनको सम्झौता अझै तीन बर्ष बाँकी छ । यदी ठुलो प्रस्ताव आएको खण्डमा बिषय अगाडी बढ्न सक्छ ।’ उनले थपे ।
‘अहिलेको अवस्थामा युरोपका दुई क्लबले उनमा ईच्छा देखाएको छ । एक ईटाली बाहिरको छ ।’ सान्तोषले भनेका छन् ।

जोर्गिन्हो अहिले प्रिमियर लिगको बाँकी सिजनका लागि मैदान फर्कने प्रयासमा छन् । प्रिमियर लिग जुन १७ बाट सुरु गर्ने बिषयमा सहमती बनेको छ । सुरक्षाका सम्पुर्ण प्रक्रिया पुरा भएपछि मात्र लिग फुटबल सुरु गरिने छ ।
कोरोनाका कारण प्रिमियर लिग अबरुद्ध हुनुअघि चेल्सी लिगको चौथो स्थानमा छ । उसलाई च्याम्पियन्स लिगमा छनोट हुन पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडले चुनौती थपिरहेको छ ।