'हाकिमी रियल मड्रिडबाट खेल्न चाहन्छन्'

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डमा लोनमा खेलिरहेका विंगर आच्रफ हाकिमीले रियल मड्रिडबाटै खेल्ने लक्ष्य राखेको एजेण्ट अलेजान्ड्रो कामानोले बताएका छन् ।
हाकिमीका एजेण्ट कामानोले स्पेनिस मिडिया ओन्डा मड्रिडसँग कुरा गर्दै उनको चाहना रियलबाटै खेल्ने बताएका हुन् ।
रियलको एकेडेमीमा हुर्किएका हाकिमी सन् २०१८ मा लोनमा डर्टमण्ड गएका थिए । सन् २०१७ मा रियलको सिनियर टिममा डेब्यु गरेका उनले ९ खेलमा २ गोल गरेका थिए ।
तर, यस सिजनको अन्त्यसँगै उनी रियल फर्कने योजनामा रहेका छन् ।
'सिजन सकिएपछि उनी रियलसँग कुरा गर्नेछन्। त्यसपछि के हुन्छ हामी हेर्नेछौँ,' एजेण्ट कामानोले भने, 'रियलसँग राम्रो वार्तालाप भएको छ । रियल सधै उनीबाट उनको रफ्तारको आशा गर्दछ ।'
मोरक्कोका २१ वर्षे विंगरलाई पछिल्लो समय जर्मनकै वायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन, युभेन्ट्स र चेल्सी जस्ता ठुला क्लबले समेत चासो देखएको छ ।
यस्तै एजेण्ट कामानोले हाकिमी सधै आफुलाई मैदानमा देख्न चाहने खेलाडी भएको समेत बताए ।
'उ सधै खेल्न चाहन्छ । जस्तै अहिलेको सिजन जस्तै । जहाँ उनी हरेक खेलमा सुरुवात गर्ने छन् । उनको आकांक्षा भनेको खेल खेल्ने हो, त्यसले उनको खेल विकासमा सहयोग गर्छ,' उनले भने ।
डर्टमण्डमा लगभग दुई सिजन बिताईसकेका हाकिमीले ४९ खेलमा ६ गोल गरेका छन् ।