एजेन्सी । कोरोना भाईरसको महामारीले स्थगित जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल आज (शनिबार) सुरु हुँदैछ ।
कोरोनाको कारण गत मार्चबाट स्थगित भएको लिग करिब दुई महिनापछि पुन सुरु हुन लागेको हो ।
बुन्डेसलिगा कोरोनापछि सुरु हुने पहिलो युरोपको शीर्ष डिभिजनको लिग हो ।
फ्रान्सको लिग वान रद्द भएको अवस्थामा बुन्डेसलिगा भने सुरु हुन लागेको हो ।
शनिबार लिगमा विभिन्न ६ खेल हुनेछ । सबै खेल दर्शक विना बन्द रंगाशालामा हुनेछ ।
नेपाली समय अनुसार साँझ सवाँ ७ बजे पाँच खेल हुनेछ ।
पहिलाे दिनकाे खेलमा दाेस्राे स्थानकाे बोरुसिया डर्टमण्डले शाल्केसँग घरेलु मैदानमा खेल्नेछ ।
डर्टमण्ड लिगको दोस्रो स्थानमा छ । शाल्केविरुद्ध जित निकाल्दै डर्टमण्ड शीर्ष स्थानको वायर्न म्युनिखसँग अंक दुरी कम गर्न लक्ष्य सहित मैदान उत्रनेछ ।
युराेपेली क्लब फुटबलमा सर्वाधिक माग रहेका दुई युवा खेलाडी ईर्लिङ हाल्याण्ड र जोडन साञ्चो डर्टमण्डको जर्सीमा मैदान उत्रनेछन् ।
डर्टमण्डको २५ खेलमा ५१ अंक रहेको छ । वायर्नको ५५ अंक रहेको छ । ३७ अंक जोडेको शाल्के छैटौं स्थानमा रहेको छ ।
साेही समय अग्स्बर्ग र वुल्फवर्ग, फोर्टुना डुसेलडोर्फ र पाडेरबोर्न, होफेनहाइम र हेर्था बर्लीन तथा आरबी लिपजिग र फ्रेईबर्गले प्रतिस्पर्धा गर्नेछन् ।
दिनकाे अन्तिम खेलमा राति सवाँ १० बजे फ्रान्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुनेछ ।