एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका विंगर लुकास भाजक्वेजले आफ्नो खेल जीवन रियलबाट गर्ने चाहना भएको बताएका छन् ।
स्पेनिस विंगर लुकासले गार्जियनसँग कुरा गर्दै आफुले फुटबल करियरको अन्त्य रियलबाट गर्न चाहेको बताएका हुन् ।
'मेरो सपना रियल मड्रिडबाट रिटायर्ड हुने हो तर फुटबलमा के हुन्छ थाहा छैन,' २८ वर्षीय लुकासले भने ।
लुकासले रियलबाट तीन पटक च्याम्पियन्स लिग जितिसकेका छन् । यस्तै ला लिगा, सुपर कोपा, क्लब विश्वकप, युईएफए सुपर कप जस्ता उपाधि समेत जितेका छन् ।
सन् २०१४-५१ को सिजन लोनमा स्पानियोलबाट खेले बाहेक उनले रियलबाट मात्र खेलेका छन् । तर, उनले इंग्लिस प्रिमियर लिग क्लब जाने चाहना समेत व्यक्त गरेका छन् ।
'जब म सानो थिएँ । म भाइसँग सधै प्रिमियर लिग हेर्थें। यो धेरै आकर्षक छ । एउटा राम्रो फुटबल खेल, जुन मेरो विशेषता र व्यक्तित्व फिट हुन सक्छ,' लुकासले भने ।
लुकासले रियलका लागि अझै बढी उपाधि जित्ने चाहना भएको समेत बताए ।
'तीन च्याम्पियन्स लिग, एक ला लिगा । यो अविश्वसनीय छ र म फेरि त्यहिँ उपलब्धि चाहन्छु,' उनले थपे ।