एजेन्सी । म्यान्चेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले खेलाडीहरु मैदान फर्कन डराएको बताएका छन् ।
कोरोना भाईरसको महामारी पछि खेलाडीहरु अभ्यासमा फर्कन डराएको अग्युरोको भनाई छ ।
प्रिमियर लिग जुन ८ बाट सुरु गर्ने तयारी गरिएको छ । सबै खेलाडीहरु मे १८ भित्र अभ्यासमा फर्कने बताईएको छ ।
शीर्ष क्लबको शुक्रबार बस्ने बैठकले लिग पुन सुरु गर्ने बिषयमा औपचारिक निर्णय गर्नेछ ।
'अधिकांश खेलाडीहरु डराएका छन् । किनकी उनीहरुको बच्चा र परिवार छन् ।' अग्युरोले भनेका छन् ।
अर्जेन्टिनी टेलिभिजनमा अन्तरवार्ता दिदै उनले भनेका छन्, 'म डराएकाे छु । म यहाँ प्रेमिकासंग छु । म अरुसंग सम्पर्कमा गएको छैन । आफ्नो घरमा बन्द अवस्थामा छु । मैले संक्रमित गर्न सक्ने ब्यक्ती भनेको मेरी प्रेमिकानै हो ।'
प्रिमियर लिग मार्च १३ सम्मका लागि स्थगित गरिएको थियो । तर सबै क्लब सिजनका बाँकी ९२ खेल खेल्न तयार देखिएका छन् ।
सबै खेल बन्द रंगशालामा सञ्चालन गरिने अपेक्षा गरिएको छ ।
अर्जेन्टिनी फरवार्डले उनी र उनका साथी मैदान फर्कदा केही नरम र अतिरिक्त सावधान हुने बताए ।
सामाजिक दुरी कायम राख्दै सुरु हुने प्रशिक्षणमा साप्ताहिक रुपमा दुई पटक खेलाडीको स्वास्थ्य परिक्षण गरिनेछ र हरेक दिन कोरोनाको लक्षणको जाँच गरिनेछ ।