काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिगको साविक विजेता खालीबारी युथ क्लबले आफ्ना खेलाडीलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको छ ।
खालीबारीले बिहिबार 'सी' डिभिजन लिगका लागि क्लबमा आबद्द आफ्ना खेलाडीलाई राहत प्रदान गरेको हो ।
कोरोना भाईरसको महामारीबाट जोगिन सरकारले लकडाउन गरेसँगै समस्यामा परेका खेलाडीलाई क्लबले सहयोग गरेको हो ।
'लिग खेल्नको लागि मोफसल र लोकल खेलाडी हामीसँग थिए । खेलाडीको समस्या बुझ्दा आवश्यक परेका ९ खेलाडीलाई क्लबले सहयोग गरेको हो,' क्लबका कोषाध्यक्ष महेश श्रेष्ठले खेलपाटीसँग भने ।
क्लबले खेलाडीलाई १ बोरा चामल, ३ केजी दाल, २ केजी चिनी, २ लिटर तेल, ३ केजी आलु र २ केजी प्याज सहयोग गरेको हो ।
गत सिजन खालीबारी सी डिभिजन च्याम्पियन बनेको थियो । यस पटक भने अखिल नेपाल फुटबल संघ एन्फाले चैतमा सी डिभिजन लिग आयोजना गर्ने तयारी गरेको थियो ।
तर, बी डिभिजन लिग जारी रहदा कोरोनाको कारण एन्फाले फुटबल गतिविधि बन्द गरेको थियो । यस्तै सरकारले चैत ११ गतेबाट लकडाउनको घोषणा गरेको थियो ।
अहिले सी डिभिजनमा १० क्लब रहेका छन् । कोरोनाको कारण सी'डिभिजन लिग समेत अनिश्चित बनेको छ ।
यस सिजन क्लबले बी डिभिजनमा उक्लने लक्ष्य बनाएको थियो । तर, लिग अनिश्चित भएसँगै क्लबको योजनामा समेत धक्का लागेको छ ।
'पहिले च्याम्पियन भएको हिसाबले टिम पनि राम्रो थियो । लिग खेल्न टोली तयारी अवस्थामा थियो । तर, अहिले लिगबारे अन्योलता छ,' कोषाध्यक्ष महेशले थपे ।
यस्तै क्लबले लकडाउन बढ्दै गए र खेलाडीलाई समस्या परे पुनः सहयोग गर्ने जनाएको छ ।