एजेन्सी । इंग्लिस क्लब टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले कोरोना भाईरसको कारण स्थगित प्रिमियर लिग सुचारु भए फुटबललाई राम्रो हुने बताएका छन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै मोरिन्होले प्रिमियर लिग सुचारु भए प्रिमियर लिगसहित फुटबललाई राम्रो हुने बताएका हुन् ।
'यदि हामी यस सिजनको बाँकी ९ खेलहरू खेल्छौं भने यो हामी प्रत्येकका लागि राम्रो हुनेछ,' उनले भने, 'यो फुटबलको लागि राम्रो हुनेछ । प्रिमियर लिगको लागि पनि।'
कोरोनाको कारण लिग गत मार्चमा स्थगित गरिएको थियो । तर, आगामी जुन ८ बाट लिग सुचारु गर्ने तयारी गरिएको छ ।
यस्तै मोरिन्होले प्रिमियर लिग बन्द रंगशालामा खेलाईएपनि टेलिभिजनबाट लाखौले हेर्ने बताए । मोरिन्होले आफुले फुटबललाई धेरै मिस गरेको समेत बताए ।
'म फुटबललाई धेरै मिस गर्छु । फुटबल मेरो संसारको एक हिस्सा हो। तर, हामी धैर्य हुनुपर्दछ । यो लडाई हो जुन हामीले सबैले लड्नु पर्छ,' मोरिन्होले भने ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।