काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले विगत १ महिनायता लकडाउन लगाएको छ । जसको प्रत्यक्ष असर नेपाली खेलाडीमा परेको छ ।
विगत एक महिनाबाट खेलाडीले मैदानमा प्रशिक्षण गर्न र खेल्न पाएका छैनन् । नियमित मैदानमा देखिने खेलाडीहरु कोठाभित्र सिमित बनेका छन् ।
कतिपय खेलाडी आफुसँग उपलब्ध खेलकुद सामाग्रीको सहयोगले सेल्फ प्रशिक्षण गरिरहेका छन् । आफुलाई फिट राख्न कोशिस गरिरहेका छन् ।
तर, लामो समय मैदान बाहिर रहदा खेलाडीहरु आफ्नो लय गुम्नेमा चिन्तित देखिएका छन् ।
विराटनगरमा रहेका राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य ललित नारायण राजवंशी लकडाउनको कारण आफ्नो लय गुम्नेमा चिन्ता व्यक्त गर्छन् ।
'यो अवस्थामा खेलाडीलाई धेरै नै असर परेको छ । खेलाडीलाई आफ्नो दैनिक तालिका मिलाउन अफ्ट्यारो परेको छ । आफ्नो लय गुम्ने निकै चिन्ता छ,' ललितले भने, 'फिटनेसको केहि अंश घरैमा गरे पनि अभ्यास गर्न नपाएको छुटै दुख छ ।'
लकडाउनको कारण आफ्नो घरमै अड्किएका स्पिनर ललित मैदान फर्कन आतुर छन् । लकडाउन खुल्ने बित्तिकै काठमाडौं फर्केर प्रशिक्षण थाल्ने ललितको योजना छ ।
'लकडाउन खुल्न साथ कसरी हुन्छ काठमाडौं जाने हो,' ललितले भने, 'किनकि यहाँ (विराटनगर) अभ्यास गर्ने ठाउँ छैन । त्यसैले काठमाडौं गएर आफ्नो अभ्यास गर्ने सोच छ ।'
यस्तै ललितले लकडाउनको समय परिवारसँग रमाईलो गरेर बिताईरहेको बताए ।
'सबै परिवार संगै बसेर रमाइलो गर्ने गरेका छौं । यो लामो समयपछि जुरेको समय हो । यो समयमा नयाँ नयाँ परिकार बनाउने र सबैसंग रमाइलो गरेर बिताउने गरेको छु,' ललितले भने ।

राष्ट्रिय क्रिकेट टिमका फिजियोथेरापिस्ट विक्रम न्यौपाने समेत खेलाडीको फिटनेसलाई लिएर निकै चिन्तित छन् । त्यसैले विक्रम हरेक दिन खेलाडीलाई आफुले घरैमा उपलब्ध भएका सामाग्रीले गर्न सकिने फिटनेस अभ्यास सुझाउँदै आएका छन् ।
यस्तै विक्रम लकडाउनपछि खेलाडीको फिटनेस र स्ट्रेन्थ जाँच गर्ने योजनामा छन् ।
'लकडाउन खुल्ने वित्तिकै खेलाडीको फिटनेस र मसल स्ट्रेन्थ चेक गर्न चाहन्छु । त्यसको लागि मलाई क्यानको सहयोग आवश्यक हुन्छ । अन्त्यमा त्यो जाँच सबैको लागि लाभदायी हुनेछ,' विक्रमले भने ।
विक्रम अहिले बिहान र बेलुका घरैमा उपलब्ध सामानको प्रयोगबाट खेलाडीलाई फिट रहने उपाए घरबाटै सिकाउँदै आएका छन् । यस्तै, खेलाडीलाई आवश्यकता अनुसारको डाइटबारे सुझाब दिईरहेका छन् ।
'खेलाडीलाई आवश्यकता अनुसार डाइट र एक्सरसाइज सुझाउँदै छु,' उनले थपे, 'उनीहरूलाई दिउँसोको खाली समयमा त्यत्तिकै बस्नु भन्दा मोटिभेसनल फिल्म, जीवनी पढ्न र हेर्न समेत आग्रह गर्छु ।'