एजेन्सी । इंग्लिस क्लब लिभरपुलले ब्राजिलियन फरवार्ड फिलिपे कौटिन्होलाई क्लब फर्काउने कुनै योजना नभएको बताएको छ ।
खेलाडी किनबेच (ट्रान्सफर) को सिजन सुरु हुनै लाग्दा लिभरपुलले मिडफिल्डर कौटिन्हो अनुबन्धको कुनै योजना नभएको जनाएको हो ।
कोटिन्हो सन् २०१८ मा लिभरपुलबाट बार्सिलोना गएका थिए । बार्सिलोनाले महँगो मूल्यमा कोटिन्हो भित्र्याएका थिए ।
तर, बार्सिलोनामा २७ वर्षीय मिडफिल्डर आफुलाई प्रमाणित गर्न सकेनन् । जसको कारण यस सिजन बार्सिलोनाले उनलाई लोनमा जर्मन क्लब वायर्न म्युनिख पठाएको छ ।
वायर्नमा भने उनले यस सिजन उत्कृष्ट खेलिरहेका छन् । यस सिजन कौटिन्होले ३२ खेलमा ९ गोल र गोलका लागि ८ पास उपलब्ध गराएका छन् ।
यसै साता कोटिन्होले खुट्टाको चोटको शल्यक्रिया गरेका छन् । उनी दुई सातामा ठिक हुने वायर्नले जनाएको छ ।