एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमार पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना फर्कने हल्ला चलिरहेको छ ।
बार्सिलोना पनि सुपरस्टार नेयमारलाई यसै सिजन फर्काउन लागि परेको समाचारहरु आईरहेको छ । तर, स्पेनिस डेली मार्काले भने नेयमार पीएसजीमै रहने सनसनीपूर्ण समाचार प्रकाशित गरेको छ ।
मार्काले कोरोना भाईरसको महामारी र बार्सिलोनाको बोर्डमा उत्पन्न विवादको कारण नेयमारको सरुवा रोकिने दाबी गरेको छ । हालै बार्सिलोनाका ६ बोर्ड सदस्यले राजिनामा दिएका थिए ।
बार्सिलोना चार सिजन बिताएर नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा पीएसजी गएका थिए । तर, पछिल्लो समय नेयमार पीएसजीमा खुसी नभएको बताईएको छ ।
चार सिजन क्लबमा रहदा नेयमारले बार्सिलोनाका लागि १ सय ५ गोल गरेका थिए ।
कोरोनाको कारण क्लबमा पर्न गएको आर्थिक संकटको कारण समेत नेयमारको सरुवा रोकिने मार्काले जनाएको छ । क्लबको आर्थिक संकटको कारण बार्सिलोनाले पीएसजीको मागलाई थेग्न नसक्ने बताईएको छ ।
कोरोनाको कारण अहिले फ्रेन्च लिग र स्पेनिस ला लिगासहित विश्वका सबै ठुला लिगहरु स्थगित गरिएको छ । यस्तै आर्थिक संकट परेपछि बार्सिलोना लगायतका ठुला क्लबले खेलाडीको तलब कटौती गरिसकेका छन् ।
यस्तै मार्काले नेयमार पीएसजीमा समेत खुसी रहेको बताएको छ । लकडाउनको समय नेयमारले आफ्ना टिमका साथीहरुलाई धेरै मिस गरेको बताएको समेत मार्काले जनाएको छ ।
यस सिजन पीएसजीका लागि नेयमारले २२ खेलमा १८ गोल गरिसकेका छन् ।