एजेन्सी । इंग्लिस क्लब टोटेनहमका फरवार्ड सन ह्युङ मिनले दक्षिण कोरियामा सैन्य तालिम सुरु गरेका छन् ।
फरवार्ड सनले सोमबारबाट सैन्य तालिम सुरु गरेका हुन् । सन सोमबार जेजु टापुमा रहेको मारिन क्रप्स बुट क्याम्पमा तालिमका लागि आईपुगेका छन् ।
२७ वर्षे फरवार्ड सनले तीन साता सैन्य तालिममा बिताउने छन् । कोरोना भाईरसको कारण प्रिमियर लिग स्थगित भएपछि उनी सैन्य सेवाका लागि दक्षिण कोरिया फर्किएका थिए ।

दक्षिण कोरियाली सरकारको नियम अनुसार नागरिकले अनिवार्य सैनिक तालिम लिनुपर्ने हुन्छ । तर, राष्ट्रको लागि योगदान दिने व्यक्तिहरुले भने उक्त अवधिमा छुट पाउने गरेको छ ।
दुई वर्ष अघि एसियाली खेलकुदमा सनको कप्तानीमा कोरियाले फुटबलमा स्वर्ण जितेपछि उनको सैन्य सेवा केहि घटाईएको हो । सनसहित उक्त टिमका सबै खेलाडीको सैन्य सेवा घटाईएको थियो ।
कोरोनाको कारण प्रिमियर लिग अप्रिल ३० सम्मका लागि स्थगित गरोएको छ । तर, गत फेब्रुवरीमा काँधको चोट बोकेपछि सन मैदान बाहिर रहदै आएका थिए ।
