एजेन्सी । भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन् २०१९ को विश्वकपपछी क्रिकेट खेलेका छैनन् ।
विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डसँग पराजित भएको खेलपछी धोनीले व्यवसायिक क्रिकेट खेलका छैनन् ।
धोनी केही समयअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको सेन्ट्रल कन्ट्याक्टमा समेत अटाउन सकेका थिएनन् ।
तर, धोनी इण्डियन प्रिमियर लिग (आईपीएल) बाट क्रिकेटमा पुनरागमन गर्ने तयारीमा रहेका छन् ।
आईपीएल नै धोनीको लागि टी-ट्वान्टी विश्वकपको मुख्य ढोकाको रुपमा रहेको छ । टी-ट्वान्टी विश्वकप यहि वर्ष अष्ट्रेलियामा हुँदैछ ।
भारतीय प्रशिक्षक तथा क्रिकेट सरोकारवालाहरुले समेत धोनीको आईपीएलको प्रदर्शनले उनी टिममा फर्किन सक्ने वा नसक्ने भन्ने टुंगो लाग्ने बताउँदै आएका छन् ।
तर, अष्ट्रेलियाका पूर्व स्पिनर ब्राड हगले भने धोनीले टी-ट्वान्टी विश्वकपमा स्थान बनाउन नसक्ने बताएका छन् ।
सामाजिक संजालमा एक समर्थकले सोधेका प्रश्नमा हगले धोनीले विश्वकप खेल नसक्ने बताएका हुन् ।
'आईपीएलमा उनको प्रदर्शन बाँकी छ । तर दुर्भाग्यवश मलाई लाग्छ, उनीले लामो समयदेखि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् र आईपीएलमा उनको धेरै खेल चेन्नईमा छ (यदि यसो भए) जहाँ पिचहरू स्पिनमैत्री छन् । जुन अष्ट्रेलियामा भेटिने गर्छ ।' हगले भनेका छन् ।