काठमाडौं । १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि छिनोफानो शनिबार हुँदैछ ।
उपाधिका लागि पुर्व च्याम्पियनहरु विभागीय नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लब आमने सामने हुँदैछन् ।
पोखरा रंगशालामा शनिबार उत्रदै गर्दा दुवै टिमलाई विगतको विरासत मनोबलको रुपमा प्राप्त हुनेछ ।
दुवै टिम पोखरा मैदानका लागि भाग्यशाली र परिचित टिम हुन् ।
नव निर्मित मैदानमा हुने फाइनल खेल दिनको ठिक २ बजे सुरु हुने छ ।
साविकको विजेता थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस प्रतियोगिताको नवौं पटक फाइनल पुगेको हो । मनाङ विभागीय आर्मीलाई रोमाञ्चक खेलमा ३–१ गोल अन्तरले पराजित गर्दै दशौं पटक उपाधि नजिक पुगेको हो ।
१८ औं संस्करण आईपुग्दा पुलिस सातौं पटक आहा रारा गोल्डकपको उपाधि जित्न चाहन्छ । पुलिस प्रतियोगिताको सर्बाधिक सफल टिम पनि हो ।
यस्तै पुलिसलाई पछ्याउने क्रममा रहेको मनाङले ५ पटक उपाधि जितेको छ ।
मनाङ र थ्री स्टार समान ५ पटकका च्याम्पियन हुन् ।
२०५८ सालमा काराभान प्रतियोगिताबाट सुरु भएको प्रतियोगितामा हालसम्म ५ क्लबले उपाधि हात पारेका छन् ।
पुलिस, मनाङ र थ्रीस्टार पछि यस प्रतियोगिता आयोजक सहारा एघार र अफ्रिकन युनाईटेडले एक एक पटक उपाधि जितेको छन् ।
विभागीय टिम आर्मी आहा राराको अभागी टिम हो । आर्मी क्लब ४ पटक फाइनल पुगेर उपाधि हात पार्नबाट चुकेको छ ।
गत बर्ष पनि आर्मीले उपविजेतामै आफुलाई सिमित राखेको थियो ।
यस्तै एपीएफ क्लब, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब र विदेशी आल्र्टोन फुटबल क्लबले एक एक पटक फाईनल पुगेका थिए ।
फाइनलको पुर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुबै टिमले उपाधिमा दाबी प्रस्तुत गरे ।
पुलिसका प्रशिक्षक अनन्त राज थापाले फाइनल खेल ५०–५० को भएपनि उपाधि हात पार्न धेरै मेहनत गर्नुपर्ने बताए ।
‘फाइनल हो ५० ५० को हुन्छ । मनाङले कसरी खेलिरहेको छ त्यो अध्ययन गरेका छौं । त्यहि अनुसार सत प्रतिशत दिएर जित्नको लागि खेल्छौं ।’ उनले भने ।
प्रशिक्षक अनन्तले मनाङमा पहिला जस्तै स्टार खेलाडी नभएको र त्यसको फाइदा उठाउँदै आफ्नो गतिमा खेल्ने बताए ।
‘मनाङ पहिलेको जस्तो छैन । उसलाई कसरी पराजित गर्ने भनेर रणनीति तयार पारेका छौं । ९० मिनेट आफ्नो गतिको खेल खेल्यौं भने राम्रो हुन्छ ।’ खेलाडी जिवनमा समेत आहा रारा गोल्डकपको उपाधि हात पारेका थापाले भने ।
यता, मनाङ पनि पुलिसलाई कमजोरी नलिने बताउँछ । पछिल्लो समय खेलाडीमा देखिएको आत्मबिश्वास मैदानमा देखाउने मनाङको बाचा छ ।
एक दिन अघि मात्रै शारिरीक रुपमा अब्बल आर्मीलाई पराजित गरेको मनाङ अर्को विभागीय पुलिसलाई पराजित गर्ने दाउमा छ ।
‘पुलिसलाई नराम्रो टिम हैन । नेपालकै राम्रो टिम हो । त्यहि अनुसार खेल्छौं । फाइनल खेल राम्रो हुनुका साथै टप हुनेछ ।’ मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले भने ।
फाइनल अघि पत्रकार सम्मेलनमा दुबै टिमका कप्तानले उपाधि हात पार्नेमा विश्वस्त रहेको बताए ।
पुलिसका कप्तान भरत शाहले युवा टिममा जोश जागर र तालमेल राम्रो भएका कारण उपाधि जित्ने बताए ।
यस्तै मनाङका कप्तान कमल श्रेष्ठले टिमका कुनै चोट नरहेका कारण प्रशिक्षकको योजना अनुसार खेल प्रर्दशन गर्ने उल्लेख गरे ।