प्रधानमन्त्री कप महिला भलिबल फागनु १८ देखि

पीएम कप महिला भलिबल बारे जानकारी दिन अायाेजित पत्रकार सम्मेलन । फाेटाे : खेलपाटी
नेपालगन्ज । प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण फागुन तेस्रो साता सुरु हुने भएको छ । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगिता फागुन १८ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता नेपाल सहित भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लबलाई सहभागिताको लागि आमन्त्रण गरिएको बुधवार पत्रकारमार्फत जानकारी दिईएको छ ।
प्रतियोगिताको विजेतालाई दुई लाख रुपैयाँ र उपविजेतालाई एक लाख र तृतीय स्थान हासिल गर्नेलाई ५० हजार रुपैयाँ प्रदान गरिने बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी गराए ।
बिभिन्न विधामा उत्कृष्टलाई पनि नगद सहित सम्मानित गरिनेछ ।
प्रधानमन्त्री कपलाई छैटौं संस्करणदेखि प्रदेश सरकारले अपनत्व लिन लागेको प्रदेश सांसद कृष्णा केसी नमुनाले जानकारी गराइन् ।
‘प्रदेशकै नम्बर एक प्रतियोगिता भएको हुँदा प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’ सांसद नमुनाले भनिन्, ‘आयोजकले सोचेजस्तै साँच्चिकै अन्तर्राष्ट्रिय स्तरमो प्रतियोगिताका रुपमा स्थापित गर्न कुनै कसर बाँकी राखिने छैन ।’
आयोजक बाँके जिल्ला भलिबल संघले दक्षिण एशियामै नम्बर एक प्रतियोगिताका रुपमा स्थापित गर्न उद्देश्यले यस बर्षदेखि जनप्रतिनिधिको संयोजकत्वमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मुल आयोजक समिति तयार गरेको छ ।
नेपाल भलिबल संघका सचिव भिम ओलीले प्रधानमन्त्री कपलाई केन्द्रिय संघले उच्च प्राथमिकतामा राखेको बताए । ‘यसको स्तरोन्नतिसँगै एशियाली भलिबल महासंघको क्यालेन्डरमा समावेश गर्न संघले पहल गरिरहेको छ ।’ मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष ओलीले भने, ‘समग्र बाँके जिल्लाका लागि यो अवसर हो, तसर्थ सबैलाई साझेदारी गर्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री कपमा विभागीय टिम पुलिस क्लब, नेपाल एपीएफ क्लब, नेपाली सेना, न्यु डायमन्ड सहितका राष्ट्रिय स्तरका ठुला क्लबले सहभागिता जनाउँदै आएका छन् ।
प्रतियोगिता आयोजनामा नगद पुरस्कारसहित झण्डै तीस लाख खर्च हुने आयोजक संघका अध्यक्ष ठकुरीले जानकारी दिए । प्रधानमन्त्री कपको विगतका संस्करणहरुमा नेपाल, भारत र बंगलादेशको शीर्ष टिमले सहभागिता जनाइसकेको छन् ।
पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ क्लब, तेस्रो र चौथोमा भारतीय रेलवे टिम तथा पाँचौंमा नेपाल एपीएफ क्लब च्याम्पियन बनेका थिए ।






-1773230362276.jpg&w=3840&q=75)




-1775788668970.webp&w=3840&q=75)




