काठमाडौं । थ्री स्टार क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरथित दशरथ रंगशालामा बुधबार भएको खेलमा १० खेलाडीमा सिमित ब्रिगेड ब्वाईज क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार शीर्ष तीनमा उक्लिएको हो ।
थ्री स्टारलाई जित दिलाउन सुशान्त श्रेष्ठ, अनन्त तामाङ र वासिउ ओलादिरान हाजमातले एक एक गोल गरे । ब्रिगेडका रोशन राना मगरले एक गोल फर्काए ।
पहिलो हाफमै २-० को अग्रता बनाउन सफल थ्री स्टारले खेलको १५ औं मिनेटमा सुशान्तको गोलबाट अग्रता बनाएको थियो ।
थ्री स्टारका गोलकिपर प्रिसोले उपलब्ध गराएको बललाई डिफेन्डर अशोक खवासले बल डिबक्सभित्र उपलब्ध गराएका थिए । उक्त बललाई सुशान्तले पोस्टको दिशा दिए । थ्री स्टारले पहिलो गोल 'थ्री टच' मा गरेको थियो ।

खेलको ४१ औं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्तले हेडबाट उत्कृष्ट गोल गर्दै थ्री स्टारलाई २-० को अग्रता दिलाए ।
यस्तै थ्री स्टारले ५८ औं मिनेटमा तेस्रो गोल गर्यो । उसका विदेशी खेलाडी हाजमातले ब्रिगेडका डिफेन्डरको गम्भीर गल्तिको फाइदा उठाउदै गोलकिपर विशाल सुनार अगाडी बढेको अवस्थामा चिप गोल गरे । उनको नेपाली लिगमा पहिलो गोल हो ।
खेलको ६६ औं मिनेटमा ब्रिगेड १० खेलाडीमा समेटियो । थ्री स्टारका अशोक खवासलाई खराब ट्याकल गरेपछि रेफ्री श्रवन लामाले ब्रिगेडका दिपेन्क राज सिहलाई रातो कार्लेड दिदै मैदानबाट बाहिर पठाएका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा ब्रिगेडले सान्त्वना गोल फर्कायो । थ्री स्टारका गोलकिपर प्रिसो अगाडी बढेको फाइदा उठाउदै रोशनले चिप गोल गरेका थिए । तर, उनको गोल सान्त्वना गोलमा सिमित भयो ।
खेलमा थ्री स्टारका अनन्त म्यान अफ दि म्याच चुनिए ।
जितसँगै थ्री स्टारले ५ खेलमा १० अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्र क्लबसँग अंक बराबर भएपनि गोल अन्तरमा थ्री स्टार पछि रहेको छ ।
ब्रिगेड ५ खेलमा ६ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?
थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले ३ अंक जोडेको पनि खेललाई थप सुधार गर्नु पर्ने आवश्यकता रहेको बताए ।
'तीन अंक पायौ । यसमा खुसी छौँ तर, पाएको अवसर ३० प्रतिशत मात्रै सदुपयोग गर्न सक्यौं,' प्रशिक्षक केसीले भने, 'युवा टिम छ । यसलाई सुधार गर्छौं । यस नतिजाले आउदा दिनमा राम्रो हुन्छ ।'
ब्रिगेडका प्रशिक्षक खगेन्द्र पुनले पराजित भएपनि टिमले राम्रो खेलेको बताए ।
'खेल हार्यौं तर खेलाडीले राम्रो गरे । १० खेलाडीमा समेटिए पनि दोस्रो हाफमा राम्रो खेल्ने,' उनले भने, 'यो प्रदर्शनले खेलाडीले आत्मविश्वास दिलाएका छन् । यहिँ आत्मविश्वास लिएर अगाडि बढ्ने छौँ ।'
खेलमा म्यान अफ दि म्याच बनेका अनन्तले टिमले हरेक खेलमा सुधार गरिरहेको र टिम अब बलियो बनिरहेको बताए ।
'दिन दिनै टिम राम्रो भईरहेको छ । जितले खेलाडीलाई प्रेरणा मिलेको छ । अबका दिनमा झनै राम्रो हुन्छ,' उनले भने ।

थ्री स्टार प्लेईङ सेट -
बिक्रम लामा, अनन्त तामाङ, प्रविन कुमार सैंजु, प्रिसो, वासिउ ओलादिरान हाजमात, मिच्छेन तामाङ, रुपेश केसी, सुशान्त श्रेष्ठ, सुशील राई, अशोक खवास, दिपेश घले
ब्रिगेड प्लेईङ सेट -
अनिल गुरुङ, जया गुरुङ, दिपेन्क राज सिह, मनोज राई, पदम भट्टराई, रोशन राना मगर,रन्दिप पौडेल, शिशिर लेखी, विजय गुरुङ, विशाल सुनार, बुसाकी