काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहिबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई १-० गोल अन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित मनाङ तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जित दिलाउन जगजित श्रेष्ठले निर्णायक गोल गरे ।
जगजितले खेलको २५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । भीदाल लुइसको क्रसलाई उनले सदुपयोग गरेका थिए ।
त्यसअघि खेलको २३ औं मिनेटमा मनाङका विमल राना गोल गर्न चुके । उनको चिप बल पोस्टमाथिबाट बाहिरिएको थियो ।
तुलानात्मक कमजोर टिम ब्रिगेडविरुद्ध मनाङले दोस्रो हाफमा पनि गोलको अवसर खेर फालेका थिए ।

खेलको ५५ औं मिनेटमा मनाङका फेमी जोसुआले दायाँ भागबाट गरेको प्रहार ब्रिगेडका गोलरक्षक विशाल सुनारले सहजै बचाए । ६० औं मिनेटमा मनाङका पुजन उपरकोटीले डिबक्स बाहिरबाट गरेको कडा प्रहार ब्रिगेडका जया गुरुङलाई लाग्दै बाहिरिएको थियो ।
यस्तै ६६ औं मिनेटमा विमल गोल गर्न चुकेका थिए । विमलले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । उनको चिप बल ब्रिगेडका गोलरक्षक विशालले मुश्किलले बचाए ।
खेलको ७३ औं मिनेटमा एक राज बुढाथोकीले रातो कार्ड पाउँदा मनाङ १० खेलाडीमा समेटिएको थियो । ब्रिगेडका विजय गुरुङलाई मैदानको मध्ये भागमा खराब ट्याकल गरेपछी बुढाथोकीले रेड कार्ड पाएका थिए ।
ब्रिगेडविरुद्ध १० खेलाडीमा सिमित भएपछी भने मनाङले डिफेन्सिभ खेल खेलेको थियो । मनाङले गोलकर्ता जगजितलाई निकाल्दै डिफेन्डर आदित्य चौधरीलाई मैदान पठाएको थियो ।

खेलमा मनाङका कप्तान कमल श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।
जितसँगै मनाङले ३ खेलमा ९ अंक जोडेको छ ।
मनाङले यसअघि भएको पहिलो खेलमा एपीएफलाई २–० तथा दोस्रो खेलमा आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
ब्रिगेडको यो दोस्रो हार हो । ब्रिगेडले ३ खेलमा ३ अंक जोडेको छ । ब्रिगेड लिगको नवौं स्थानमा रहेको छ ।
पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित ब्रिगेडले दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको थियो ।

के भन्छन् प्रशिक्षक ?
मनाङका प्रशिक्षक तोपे फुजाले खेल सोचेको जस्तै भएको बताए ।
'खेल प्रतिस्पर्धात्मक बन्यो । सोचेको जस्तै भयो । आवश्यक ३ अंक आयो,' उनले भने, 'विपक्षि युवा टिमले राम्रो खेल्यो ।'
ब्रिगेडका म्यानेजर अर्पिन कार्कीले ३ अंक जोड्ने लक्ष्य भएको भएपनि सफल नभएको बताए ।
'खेल जित्न आएका थियौं । तर, सकेनौ । सोचेको जस्तो खेल्न सकेनौ,' उनले भने ।
मनाङ प्लेईङ सेट -
विमल राना, कमल श्रेष्ठ (कप्तान), सुरज विश्वकर्मा,लार्बा फ्लोरेन्ट, दीप कार्की, एक राज बुढाथोकी, दयानन्द सिंह, पुजन उपरकोटी, भिदाल लुइस, फेमी जोश्वा, जगजित श्रेष्ठ
ब्रिगेड प्लेईङ सेट -
अनिल गुरुङ, जया गुरुङ, मनोज राई, पदम भटराई, ऋतिक कुमार खड्का, रोशन राना मगर, रन्दिप पौडेल, शिशिर लेखी, विजय गुरुङ, विशाल सुनार, ताजुदिन बुसारी