काठमाडौं । पुलिस क्लबका मिडफिल्डर भोला सिलवालको लागि सोमबारको खेल निकैनै सम्झन योग्य हुनेछ ।
गत सिजन चोटबाट फर्किएपछि उनले थ्री स्टारविरुद्ध गोल गरेका थिए । तर गोलको खुसीयाली मनाउने क्रममा उनले पुन चोट बाके । लगत्तै उनलाई मैदानबाट बाहिर निकालियो ।
निकै जोडले मैदान फर्किएका भोला पहिलाे खेलमै पुन चाेट बाेक्दै लामो समय पुन मैदान बाहिर हुन पुगे ।
सायद थ्रीस्टारविरुद्ध भोलाले त्यो सलिब्रेसन कहिल्यै भुल्ने छैनन् । जुन खेलमा पुलिसले भोलालाई गुमाएको थियो । तर नतिजा ३–१ ले आफ्नो पक्षमा पारेको थियो ।
एक बर्षको अन्तरमा फेरि पुलिस र थ्रीस्टार क्लब आमने सामने हुँदैछन् । पहिलो खेलमै बराबरीमा रोकिएका ललितपुर क्लब थ्री स्टार र विभागीय टिम नेपाल पुलिस दशरथ रंगशालामा दिउँसो ३ बजे भिड्नेछन् ।
दुबै टिम स्पष्ट तीन अंक लिने लक्ष्यसहित मैदान उत्रनेछन् । पहिलो खेलमा थ्री स्टार ललितपुरकै जावलाखेल युथसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
पुलिसले हिमायन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
गत सिजन टिमलाई छैठौ स्थान दिलाएका पुलिसका प्रशिक्षक अनन्त राज थापा प्रत्येक टिम आफ्नो लागि नयाँ हुने भएकाले साेही अनुरुप रणनीति बनाएर खेल्ने बताउँछन् ।
‘लिगमा हरेक टिमलाई नयाँ प्रतिद्धन्दी मानेर अगाडी बढ्छौं । थ्री स्टारविरुद्ध लक्ष्य तीन अंक हुन्छ ।’ उनी भन्छन् ।
पहिलो खेलमा अनुभवी र स्टार खेलाडीलाई प्लेईङ सेटमा खेलाएका उनले थ्री स्टारविरुद्ध युवा टिमलाई मैदान झिकाउने तयारी गरेका छन् । हाल पुलिसमा राष्ट्रिय टिमबाट रवि पासवान, तेज तामाङ र अजित भण्डारी खेल्दै आईरहेका छन् ।
थ्रीस्टार पनि पुलिस क्लबलाई पराजित गर्दै पहिलो पटक तीन अंक हात पार्ने दाउमा हुनेछ । मुख्य प्रशिक्षक मेघराज केसी पहिलो खेलमा स्काेरमा समस्या देखिएकाे कारण पुलिसविरुद्ध कमी कमजोर सुधार गर्द तीन अंकका लागि खेल्ने बताउँछन् ।
‘पहिलो खेलमा स्कोर आएन । पुलिसविरुद्ध सुधार गर्दै तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
राष्ट्रिय टिम र केही अनुभवी खेलाडीले क्लब छाडेपछि थ्री स्टारमा तीन जनामात्रै राष्ट्रिय टिममा रहेका खेलाडी छन् ।
सुनिल बल, रन्जित धिमाल, एलन न्यौपानेले थ्रीस्टार छाडिसकेका छन् । थ्रीस्टारसँग अहिले कप्तान विक्रम लामा, अनन्त तामाङ, मिक्छेन तामाङ र रुपेश केसी मात्रै परिचित अनुहार हुन् ।
पहिलो खेलमा थ्री स्टारले तीन विदेशी खेलाडी खेलाए पनि धेरै नयाँ अनुहार टिममा समाबेश गरेको छ । प्रशिक्षक केसी नयाँ जोशका साथ खेलाडीले धेरै मेहनत गर्नुपर्ने बताउँछन् ।