काठमाडौं । पहिलो खेलमा सतप्रतिशत जित निकाल्ने टिममा पर्छन्, मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी ।
पहिलो खेलमा प्राप्त तीन अंकले दुबै टिमलाई दोस्रो चरणको शीर्ष स्थानको होडमा राखेको छ ।
दशरथ रंगशालामा हुने खेलमा दुबै टिम तीन अंक हासिल गर्दै शीर्ष स्थानमा पुग्न चाहन्छन् ।
घरेलु फुटबलमा मनाङ र आर्मीलाई ‘राईभल’ टिम मानिन्छ । विदेशी खेलाडीको साथ पाएको मनाङ शारिरिक र प्राविधिक रुपमा बलियो छ ।
आर्मी सदाबहार शारिरिक रुपमा बलियो देखिन्छ । त्यसैले उसलाई लिगको दाबेदारको रुपमा लिने गरिन्छ ।
दुबै टिम फेरी एकपटक आफुलाई बलियो सावित गर्ने लक्ष्य सहित मैदान उत्रदैछन् ।
राष्ट्रिय टिमका ७ खेलाडीले साथ छाडेको मनाङ र राष्ट्रिय टिमका ४ खेलाडी सम्मिलित आर्मी बीचको विजेताले लिग लिडर टोलीको छनोट गर्नेछ ।
राष्ट्रिय टिमका भरत खवास, सुमन अर्याल, नवयुग श्रेष्ठ र विकेश कुथुको साथ पाएको आर्मी मनाङविरुद्ध बदला लिने याेजनामा रहनेछ ।
आर्मीका प्रशिक्षक नविन न्यौपाने मनाङविरुद्ध स्पष्ट तीन अंकको लागि मैदान उत्रने बताउँछन् ।
‘मनाङ डिफेन्डिङ च्याम्पियन हो । हामी लिग च्याम्पियन हुन हिडेका हौं । त्यसैले मनाङसँग स्पष्ट तीन अंकका लागि भिड्छौं ।’ उनी भन्छन् ।
गत सिजन लिग र एएफसी कपमा समेत खेलेका मुख्य खेलाडीले टिम छाडेपछि मनाङ राष्ट्रिय टिमका खेलाडी बिहिन बनेको छ ।
तर मनाङसँग यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका बिमल राना, कप्तान कमल श्रेष्ठ, आदित्य चौधरी, रन्जन बिष्ट र जगदिश श्रेष्ठ साथमा छन् ।
अन्जन विष्ट पनि टिममा रहेपनि एन्फाको कारबाहीका कारण ४५ दिन टिम बाहिर रहनेछन् ।
डिस्को काण्डमा मुछिएपछि उनी सहित चार खेलाडी एन्फाको कारबाहीमा परेका हुन् ।
आर्मीले समेत डिस्को काण्डमा मुछिएका आफ्ना मिडफिल्डर सन्तोष तामाङलाई गुमाउनेछ ।
गत सिजन मनाङले आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । आर्मीविरुद्ध आकर्षक खेल प्रस्तुत गरेका भारतीय डिफेन्डर मोहम्मद आसिफ म्यान अफ दि म्याच भएका थिए ।
हाल उनी नेपालमा उपलब्ध छैनन् ।
गत सिजनको लिग च्याम्पियन मनाङ लगातार आर्मीलाई पराजित गर्ने लक्ष्यमा छ । क्लबका सहायक प्रशिक्षक धनेश्वर प्रजापति आर्मीविरुद्ध तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘आर्मी बलियो टिम हो । जित्नका लागि खेल्छौं । पहिलो खेलमा जित आएका कारण उत्साहित छौं ।’ उनी भन्छन् ।
मनाङले आफ्नो पहिलो खेलमा अर्काे विभागीय एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो । उसका लागि दुबै गोल विमल रानाले गरेका थिए ।
पहिलो खेलमै विदेशी खेलाडीलाई टिममा समावेश गराएको मनाङ शारिरिक रुपमा बलियो आर्मीविरुद्ध साेही प्लेईङ सेट उतार्ने योजनामा छ ।
आर्मीले पहिलो खेलको सेटबाट एक खेलाडी परिवर्तन गर्ने तयारी छ । उसका डिफेन्डर विमल पाण्डे सामान्य घाईते हुँदा बिकास तामाङलाई सुरुवाती रुपमा खेलाउने योजना बनाएको छ ।