काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिगमा आज (सोमबार) दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले दुबै खेल दशरथ रंगशालामा खेलाउने बताएको छ ।
भुटानको यू–१५ महिला टिम र नेपाल बीचको मैत्रिपुर्ण खेल एन्फा कम्प्लेक्समा हुने भएकाले लिगका दुबै खेल दशरथ रंगशालामा खेलाउन लागिएको हो ।
सोमबारको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र पुर्व च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल मध्यान्न १२ बजे हुनेछ ।
यस्तै दोस्रो खेलमा अर्काे विभागीय नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
यसअघि भएको खेलमा मनाङ र आर्मी दुबैले जित दर्ता गराईसकेको छन् ।
दुबै टिम शीर्ष स्थानको लागि खेल्नेछन् । यस्तै पुलिस र थ्रीस्टारले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए । दुबै टिम पहिलो पटक स्पष्ट तीन अंकको लागि खेल्नेछन् ।
शीर्ष स्थानको होडमा मनाङ र आर्मी
पहिलो खेलमा सतप्रतिशत जित निकाल्ने टिममा पर्छन्, मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी ।
पहिलो खेलमा प्राप्त तीन अंकले दुबै टिमलाई दोस्रो चरणको शीर्ष स्थानको होडमा राखेको छ ।
दशरथ रंगशालामा हुने खेलमा दुबै टिम तीन अंक हासिल गर्दै शीर्ष स्थानमा पुग्न चाहन्छन् ।
घरेलु फुटबलमा मनाङ र आर्मीलाई ‘राईभल’ टिम मानिन्छ । विदेशी खेलाडीको साथ पाएको मनाङ शारिरिक र प्राविधिक रुपमा बलियो छ ।
आर्मी सदाबहार शारिरिक रुपमा बलियो देखिन्छ । त्यसैले उसलाई लिगको दाबेदारको रुपमा लिने गरिन्छ ।
दुबै टिम फेरी एकपटक आफुलाई बलियो सावित गर्ने लक्ष्य सहित मैदान उत्रदैछन् ।
राष्ट्रिय टिमका ७ खेलाडीले साथ छाडेको मनाङ र राष्ट्रिय टिमका ४ खेलाडी सम्मिलित आर्मी बीचको विजेताले लिग लिडर टोलीको छनोट गर्नेछ ।
राष्ट्रिय टिमका भरत खवास, सुमन अर्याल, नवयुग श्रेष्ठ र विकेश कुथुको साथ पाएको आर्मी मनाङविरुद्ध बदला लिने याेजनामा रहनेछ ।
आर्मीका प्रशिक्षक नविन न्यौपाने मनाङविरुद्ध स्पष्ट तीन अंकको लागि मैदान उत्रने बताउँछन् ।
‘मनाङ डिफेन्डिङ च्याम्पियन हो । हामी लिग च्याम्पियन हुन हिडेका हौं । त्यसैले मनाङसँग स्पष्ट तीन अंकका लागि भिड्छौं ।’ उनी भन्छन् ।
गत सिजन लिग र एएफसी कपमा समेत खेलेका मुख्य खेलाडीले टिम छाडेपछि मनाङ राष्ट्रिय टिमका खेलाडी बिहिन बनेको छ ।
तर मनाङसँग यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका बिमल राना, कप्तान कमल श्रेष्ठ, आदित्य चौधरी, रन्जन बिष्ट र जगदिश श्रेष्ठ साथमा छन् ।
अन्जन विष्ट पनि टिममा रहेपनि एन्फाको कारबाहीका कारण ४५ दिन टिम बाहिर रहनेछन् ।
डिस्को काण्डमा मुछिएपछि उनी सहित चार खेलाडी एन्फाको कारबाहीमा परेका हुन् ।
आर्मीले समेत डिस्को काण्डमा मुछिएका आफ्ना मिडफिल्डर सन्तोष तामाङलाई गुमाउनेछ ।
गत सिजन मनाङले आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । आर्मीविरुद्ध आकर्षक खेल प्रस्तुत गरेका भारतीय डिफेन्डर मोहम्मद आसिफ म्यान अफ दि म्याच भएका थिए ।
हाल उनी नेपालमा उपलब्ध छैनन् ।
गत सिजनको लिग च्याम्पियन मनाङ लगातार आर्मीलाई पराजित गर्ने लक्ष्यमा छ । क्लबका सहायक प्रशिक्षक धनेश्वर प्रजापति आर्मीविरुद्ध तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘आर्मी बलियो टिम हो । जित्नका लागि खेल्छौं । पहिलो खेलमा जित आएका कारण उत्साहित छौं ।’ उनी भन्छन् ।
मनाङले आफ्नो पहिलो खेलमा अर्काे विभागीय एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो । उसका लागि दुबै गोल विमल रानाले गरेका थिए ।
पहिलो खेलमै विदेशी खेलाडीलाई टिममा समावेश गराएको मनाङ शारिरिक रुपमा बलियो आर्मीविरुद्ध साेही प्लेईङ सेट उतार्ने योजनामा छ ।
आर्मीले पहिलो खेलको सेटबाट एक खेलाडी परिवर्तन गर्ने तयारी छ । उसका डिफेन्डर विमल पाण्डे सामान्य घाईते हुँदा बिकास तामाङलाई सुरुवाती रुपमा खेलाउने योजना बनाएको छ ।
थ्रीस्टार र पुलिसलाई जित निर्विकल्प
पुलिस क्लबका मिडफिल्डर भोला सिलवालको लागि सोमबारको खेल निकैनै सम्झन योग्य हुनेछ । गत सिजन चोटबाट फर्किएपछि उनले थ्री स्टारविरुद्ध गोल गरेका थिए । तर गोलको खुसीयाली मनाउने क्रममा उनले पुन चोट बाके । लगत्तै उनलाई मैदानबाट बाहिर निकालियो ।
निकै जोडले मैदान फर्किएका भोला पहिलाे खेलमै पुन चाेट बाेक्दै लामो समय पुन मैदान बाहिर हुन पुगे ।
सायद थ्रीस्टारविरुद्ध भोलाले त्यो सलिब्रेसन कहिल्यै भुल्ने छैनन् । जुन खेलमा पुलिसले भोलालाई गुमाएको थियो । तर नतिजा ३–१ ले आफ्नो पक्षमा पारेको थियो ।
एक बर्षको अन्तरमा फेरि पुलिस र थ्रीस्टार क्लब आमने सामने हुँदैछन् । पहिलो खेलमै बराबरीमा रोकिएका ललितपुर क्लब थ्री स्टार र विभागीय टिम नेपाल पुलिस दशरथ रंगशालामा दिउँसो ३ बजे भिड्नेछन् ।
दुबै टिम स्पष्ट तीन अंक लिने लक्ष्यसहित मैदान उत्रनेछन् । पहिलो खेलमा थ्री स्टार ललितपुरकै जावलाखेल युथसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
पुलिसले हिमायन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
गत सिजन टिमलाई छैठौ स्थान दिलाएका पुलिसका प्रशिक्षक अनन्त राज थापा प्रत्येक टिम आफ्नो लागि नयाँ हुने भएकाले साेही अनुरुप रणनीति बनाएर खेल्ने बताउँछन् ।
‘लिगमा हरेक टिमलाई नयाँ प्रतिद्धन्दी मानेर अगाडी बढ्छौं । थ्री स्टारविरुद्ध लक्ष्य तीन अंक हुन्छ ।’ उनी भन्छन् ।
पहिलो खेलमा अनुभवी र स्टार खेलाडीलाई प्लेईङ सेटमा खेलाएका उनले थ्री स्टारविरुद्ध युवा टिमलाई मैदान झिकाउने तयारी गरेका छन् । हाल पुलिसमा राष्ट्रिय टिमबाट रवि पासवान, तेज तामाङ र अजित भण्डारी खेल्दै आईरहेका छन् ।
थ्रीस्टार पनि पुलिस क्लबलाई पराजित गर्दै पहिलो पटक तीन अंक हात पार्ने दाउमा हुनेछ । मुख्य प्रशिक्षक मेघराज केसी पहिलो खेलमा स्काेरमा समस्या देखिएकाे कारण पुलिसविरुद्ध कमी कमजोर सुधार गर्द तीन अंकका लागि खेल्ने बताउँछन् ।
‘पहिलो खेलमा स्कोर आएन । पुलिसविरुद्ध सुधार गर्दै तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
राष्ट्रिय टिम र केही अनुभवी खेलाडीले क्लब छाडेपछि थ्री स्टारमा तीन जनामात्रै राष्ट्रिय टिममा रहेका खेलाडी छन् ।
सुनिल बल, रन्जित धिमाल, एलन न्यौपानेले थ्रीस्टार छाडिसकेका छन् । थ्रीस्टारसँग अहिले कप्तान विक्रम लामा, अनन्त तामाङ, मिक्छेन तामाङ र रुपेश केसी मात्रै परिचित अनुहार हुन् ।
पहिलो खेलमा थ्री स्टारले तीन विदेशी खेलाडी खेलाए पनि धेरै नयाँ अनुहार टिममा समाबेश गरेको छ । प्रशिक्षक केसी नयाँ जोशका साथ खेलाडीले धेरै मेहनत गर्नुपर्ने बताउँछन् ।