काठमाडौं । जावलाखेल युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै जावलाखेलले पहिलो जित निकालेको हो ।
जावलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले निर्णायक गोल गरे । उनले खेलको १० औं मिनेटमा गोल गरे ।
पहिलो खेलमा जावलाखेलले थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो ।
जितसँगै जावलाखेलले २ खेलमा ४ अंक जोडेको छ ।
सरस्वतीको लगातार दोस्रो हार हो । अंक विहीन सरस्वती पहिलो खेलमा एनआरटीसँग ४-० ले पराजित भएको थियो ।
प्रशिक्षक के भन्छन् ?
पहिलो तीन अंक जोडेपछि जावलाखेलका प्रशिक्षक नरेश थापाले टिम सुधार हुँदै गएको र चोट बोकेका खेलाडी टिममा फर्किए टिम बलियो हुने बताए ।
'केहि खेलाडीले चोट बोकेका छन् । उनीहरु फर्किएपछि टिम अझै राम्रो हुन्छ । टिममा सुधार हुँदै गएको छ । अझै खेल सुधार गर्नेछौँ,' प्रशिक्षक थापाले भने ।
यस्तै सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले अट्याकिङ पक्ष कमजोर भएको बताए ।
'प्रदर्शन खासै राम्रो भएन् । अर्को खेलमा राम्रो गर्छौं,' प्रशिक्षक नेपालले भने, 'जित को लागि आएको थियौं । अट्याक राम्रो भएन् ।'
प्रशिक्षक नेपालले अझै १२ खेल बाँकी रहेको कारण टिमलाई रेलिगेसनको दाबेदार भन्न नमिल्ने बताए ।
सरस्वतीको प्लेईङ सेट -
दिपेश श्रेष्ठ, प्रदिप भण्डारी,तिर्थ बहादुर बस्नेत,सुसन लामा,रमेश तामाङ,कृष्ण रानाभाट,मनिष थापा, दिपक भुजेल, आन्द्रे एक्वेम, माशेक अबेल एमवान्कीना
जावलाखेल प्लेईङ सेट -
अरुज सिंह,कुलदिप कार्की, सुरज ज्यु ठकुरी,टेकेन्द्र थापा,आडमा डम्बिया,फोडे फोफाना,ड्याडी जुनियर वाम्बा,दिलन लोक्ताम,सुजित बुढाथोकी, सिमान्त थापा विजय घलान