काठमाडौं । न्युरोड टिम एनआरटीले लिगको पहिलो खेलमै प्रभाबशाली जित निकाल्यो । राष्ट्रिय टिम समेत हेरिसकेका राजुकाजी शाक्यको नेतृत्वमा रहेको एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्यो ।
पहिलो खेलमै सुखद सुरुवात गरेको एनआरटीले शुक्रबार छिमेकी क्लब तथा गत सिजनको लिगको उपविजेता संकटा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।
एनआरटीले गत सिजन लिगको अन्तिममा रहेको कारण २ अंक ऋण बोकेर नयाँ सिजनको सुरुवात गरेको थियो । सोही कारण पहिलो खेलमा जित हासिल गरेपनि एनआरटीसंग अहिले एक अंक छ ।
एनआरटीले पहिलो खेलमा सफल बन्दा संकटा भने च्यासलसंग २–० ले स्तब्ध बनेको थियो ।
गत सिजन संकटाले एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो । पराजयका बाबजुत गोलरक्षक अजित प्रजापति खेलको म्यान अफ दि म्याच घोषित भएका थिए ।
उनी अहिलेसमेत एनआरटीमै छन् । शुक्रबार मैदान उत्रदै गर्दा एनआरटीसंग गत सिजन संकटासंग ब्यहोरेको हारको बदला दिने अवसर छ ।
प्रशिक्षक राजुकाजी शाक्य संकटाबिरुद्द जित निकाल्ने लक्ष्य रहेको बताउँछन ।
“संकटाविरुद्ध तयारी छौँ । लक्ष्य स्पष्ट तीन अंकको हो ।“ गत सिजन च्यासल हेरेका शाक्य भन्छन् ।
पहिलो खेलमा च्यासलसंग हारेको संकटा अंक जोड्ने लक्ष्य सहित मैदान उत्रन चाहन्छ ।
लिगको सुरुको खेलमा बिदेशी खेलाउन नपाएको संकटा एनआरटीविरुद्व विदेशी कोटाका खेलाडी उतार्ने योजना बनाएको छ ।