काठमाडौ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज ( शनिबार ) दुई खेल हुँदैछन् ।
शनिबार लिगको दशौँ खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे सुरु हुनेछ ।
त्यस्तै दिनको दोस्रो खेलमा गत सिजनको उपबिजेता संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
जावलाखेलविरुद्ध सरस्वती दबाबमा
लिगको पहिलो खेलमा सरस्वती युथ क्लबले लज्जास्पद हार ब्यहोर्यो । पहिलो खेल जित्ने लक्ष्य राखेको काठमाडौं तीनकुनेको क्लब राजुकाजी शाक्य नेतृत्वको एनआरटीसंग ४–० को फराकिलो हार ब्यहोर्यो ।
पहिलो खेलमै फराकिलो अन्तरले पराजित सरस्वतीले लिगको दोस्रो खेलमा दबाब महशुश गरेको छ । सरस्वती जस्तै एनआरटीले लिगमा शीर्ष ६ भित्र पर्ने लक्ष्य राखेको थियो ।
तर पहिलो खेलमै स्तब्ध बनेपछि सरस्वतीले दबाब महशुश गरेको छ । क्लबसंग स्टार र अनुभवी खेलाडी छैनन् ।
यस्तो अवस्थामा सरस्वतीले जावलाखेल युथसंग प्रतिस्पर्धा गर्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
दुबै क्लब स्पष्ट तीन अङ्क जोड्ने लक्ष्य सहित मैदान उत्रने तयारी गरेका छन् । दुबै क्लबको साझा विशेषता भनेको स्टार र अनुभवी खेलाडीको कमी हो ।
दुबै टिम बिदेशी खेलाडीको भरमा उत्कृष्ट प्रदर्शनको आश राखेका छन् । जावलाखेलले पहिलो खेलमा बिदेशी खेलाडी मैदान उतार्दा सरस्वतीले भिषा प्रक्रियाका कारण विदेशी कोटाको सुविधा पाएको थिएन ।
पहिलो खेलमा पराजित सरस्वती स्पष्ट तीन अंक बटुल्ने लक्ष्य सहित जावलाखेलसंग सजक भएर खेल्ने योजनामा छ । प्रशिक्षक प्रदिप नेपालले जावलाखेलविरुद्व खेल्न टिम तयार रहेको बताए ।
“जावलाखेलसंग खेल्न तयार छौँ । पहिलो खेलनै पराजित भएका कारण तीन अंक लिन चाहन्छौं ।“ उनी भन्छन् ।
उनले एनआरटीसंग विदेशी खेलाडी खेलाउन नपाउँदा टिमलाई गाह्रो भएको बताउँदै जावलाखेलविरुद्व सो अवस्था नदोहरिने बताए ।
गत सिजन दुबै टिमले गोल रहित बराबरीमा खेलेका थिए । सो खेलमा जावलाखेलका गौतम श्रेष्ठ म्यान अफि दि म्याच भएका थिए ।
यता, पहिलो खेलमा एक अंक जोडेको जावलाखेल समेत सरस्वतीलाई हराउँदै स्पष्ट तीन अंक जोड्न चाहन्छ ।
लिगको सुरुवाती खेलमा जावलाखेलले थ्री स्टारलाई बराबरीमा रोक्दै अंक बाँडेको थियो । टिमका सहायक प्रशिक्षक जग्गुनाथ खड्का सरस्वतीविरुद्व तीन अंकका लागि खेल्ने बताउँछन् ।
“खेलाडी तयार छन् । दोस्रो खेलमा सरस्वतीसंग स्पष्ट तीन अंकका लागि खेल्छौ ।“ उनी भन्छन् ।
जावलाखेलका रुप बहादुर लामा शनिबार मैदानमा देखिने छैनन् । एपीएफबाट नयाँ सिजन जावलाखेल आएका उनी चोटका कारण मैदान बाहिर छन् । उनको स्थान यू–१९ का अरुज सिंहले लिन सक्नेछन् ।
संकटासंग बदला लिने एनआरटीको दाउ
न्युरोड टिम एनआरटीले लिगको पहिलो खेलमै प्रभाबशाली जित निकाल्यो । राष्ट्रिय टिम समेत हेरिसकेका राजुकाजी शाक्यको नेतृत्वमा रहेको एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्यो ।
पहिलो खेलमै सुखद सुरुवात गरेको एनआरटीले शुक्रवार छिमेकी क्लब तथा गत सिजनको लिगको उपविजेता संकटा क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।
खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।
एनआरटीले गत सिजन लिगको अन्तिममा रहेको कारण २ अंक ऋण बोकेर नयाँ सिजनको सुरुवात गरेको थियो । सोही कारण पहिलो खेलमा जित हासिल गरेपनि एनआरटीसंग अहिले एक अंक छ ।
एनआरटीले पहिलो खेलमा सफल बन्दा संकटा भने च्यासलसंग २–० ले स्तब्ध बनेको थियो ।
गत सिजन संकटाले एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो । पराजयका बाबजुत गोलरक्षक अजित प्रजापति खेलको म्यान अफ दि म्याच घोषित भएका थिए ।
उनी अहिलेसमेत एनआरटीमै छन् । शुक्रबार मैदान उत्रदै गर्दा एनआरटीसंग गत सिजन संकटासंग ब्यहोरेको हारको बदला दिने अवसर छ ।
प्रशिक्षक राजुकाजी शाक्य संकटाबिरुद्द जित निकाल्ने लक्ष्य रहेको बताउँछन ।
“संकटाविरुद्ध तयारी छौँ । लक्ष्य स्पष्ट तीन अंकको हो ।“ गत सिजन च्यासल हेरेका शाक्य भन्छन् ।
पहिलो खेलमा च्यासलसंग हारेको संकटा अंक जोड्ने लक्ष्य सहित मैदान उत्रन चाहन्छ ।
लिगको सुरुको खेलमा बिदेशी खेलाउन नपाएको संकटा एनआरटीविरुद्व विदेशी कोटाका खेलाडी उतार्ने योजना बनाएको छ ।