फ्रेन्ड्समाथि ब्रिगेडको रोमाञ्चक जित

एजेन्सी । सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाईजले फ्रेन्ड्स क्लबमाथि रोमाञ्चक जित दर्ता गरेको छ ।
शुक्रबार भएको लिगको दोस्रो खेलमा ब्रिगेडले फ्रेन्ड्सलाई २–० ले हराएको हो ।
ब्रिगेडको जितमा दुवै गोल उमेर समुहबाट खेल्ने जया गुरुङ र रोशन राना मगरले गरे ।
खेल सकिन दुई मिनेट अगाडीले जयाले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए ।
ईन्जुरी समयमा रोशनले गोल गर्दै ब्रिगेडलाई २–० को जित दिलाए ।
दुई खेलको समाप्तिमा ब्रिगेडले लिगमा ३ अंक जोडेको छ । फ्रेन्ड्स अंक विहिन छ ।
चलेनन् ब्राजिलियन
फ्रेन्ड्सले नयाँ सिजन तीन ब्राजिलीयन खेलाडी अनुबन्धन गरेको थियो । तर तीनै जना खेलाडीले लिगमा प्रभाव जमाउन सकेनन् ।
भिषा प्रक्रियाका कारण पहिलो खेल खेल्न नपाएका विदेशी खेलाडीलाई दोस्रो खेलमा दुवै टिमले उतारेका थिए । तर खेलमा प्रभाव उमेर समूहका राष्ट्रिय टिमबाट खेल्ने खेलाडीले देखाए ।
खेलको १५ औ मिनेटमा फ्रेन्ड्सले गोलको अवसर पाएको थियो । ब्राजिलीयन खेलाडी फिलिप डे सौजाको प्रहार ब्रिगेडका गोलरक्षक विशाल सुनुवारले सहजै बचाए ।
१७ औं मिनेटमा ब्रिगेडका विजय गुरुङको फ्रिकिकलाई फ्रेन्ड्सका गोलरक्षक देब लिम्बुले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।
३१ औ मिनेटमा फ्रेन्ड्का प्रिजन तामाङ वान भर्सेस वानमा गोल गर्न चुकेका थिए ।
दोस्रो हाफमा ब्रिगेडले सुधारिएको प्रर्दशन गर्यो । ब्रिगेडका जयले ८८ औ मिनेटमा ब्रिगेडलाई अगाडी बढाएका थिए ।
ईन्जुरी समयमा रोशनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए । दुवै खेलाडी राष्ट्रिय यू–१९ टिमका महत्वपुर्ण सदस्य हुन् ।
के भने प्रशिक्षकले ?
ब्रिगेडका प्रशिक्षक अर्बिन गुरुङ टिमको प्रर्दशनबाट खुसी देखिए ।
'तीन अंक लिन आएका थियौ, पायौं पनि । नतिजाबाट खुसी छौँ । अर्को खेलमा पुरै विदेशी खेलाउन पाउँदा थप सहज हुन्छ भन्ने लागेको छ,' उनले भने ।
उनले टिम विस्तारै सेट हुँदै गएको उल्लेख गर्दै आगामी दिन खेल परिस्कृत बन्ने धारणा राखे ।
खेलका म्यान अफ दी म्याच जया गुरुङले खेल प्रतिस्पर्धात्मक भएपनि मेहनत अनुसार जित हासिल गर्न सकिएको बताए ।
यस्तै फ्रेन्ड्सका विदेशी प्रशिक्षक मार्कुस फिलिप टिमको प्रर्दशनबाट बेखुस थिए ।
'निकै खराब प्रर्दशन रह्यो । क्लबको प्रर्दशनमा खुसी छैन,' उनले भने ।
पहिलो हाफ राम्रो भएपनि दोस्रो हाफमा खेल्न नसकिएको उनको गुनासो थियो ।
'ब्राजिलीयन खेलाडीले समेत खेल्न सकेनन् । सोही कारण क्लबको प्रर्दशनबाट दुखी छु ।' उनले थपे ।













