काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लब र च्यासल युथले बराबरी खल्दै अंंक बाँडेका छन् ।
शुक्रबार भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
ललितपुरको एन्फा कम्प्लेक्समा सुरुवाती अग्रता च्यासलले लिएकाे थियाे ।
खेलको २८ औं मिनेटमा सन्तोष साहुखलले डिबक्स बाहिरबाट बाँया खुट्टाले दाेस्राे बार च्यापेर गोल गरेका थिए ।
घरेलु लिग फुटबलमा सन्तोषले ९९ गोल पुरा गरेका छन् ।
उनी लिगमा सय गोल गर्न एक गोलले मात्र पछाडी छन् । उनी लिग फुटबलका सर्वाधिक गोलकर्ता हुन् ।
खेल सकिन २ मिनेट बाँकी छदाँ मछिन्द्रले बराबरी गोल फर्कायो ।
च्यासलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई डिबक्स भित्रबाट देवेन्द्र तामाङले सहजै गोल गरेका थिए ।
अन्तिम दुई मिनेट सम्हालिन नसक्दा च्यासल अंक बाँड्न बाध्य भएको हो ।
अन्तिम नतिजासंगै च्यासलले दुई खेलबाट तीन अंक जोडेको छ । च्यासल ४ अंक सहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
विदेशी खेलाडीकाे प्रभाव
पहिलो खेलमा बिदेशी खेलाडी उतार्न नपाएका दुवै टिमले लिगको दोस्रो खेलमा विदेशी कोटाका खेलाडी मैदान उतारेका थिए ।
च्यासलका जापानीज खेलाडी हायातो वाकिनोले उत्कृष्ट खेल पस्के । च्यासलले मछिन्द्रविरुद्व प्लेईङ सेटमा दुई जापानी खेलाडीलाई मैदान उतारेको थियो ।
च्यासलले ६१ औं मिनेटमा अर्का जापानीज खेलाडी जुनिचो ओजावालाई मैदान प्रवेश गराएको थियो ।
पहिलो हाफमा गोल ब्यहोरेपछि आक्रमक भएको मछिन्द्रले ४ मिनेटको अन्तरमा दुई फ्रिकिक पाएको थियो । तर दिपक राई र रन्जित धिमालको प्रहारले सफलता प्राप्त गर्न सकेन ।
खेलको ५३ औं मिनेटमा मछिन्द्रका एडेलाजा सोमिडेले डिबक्स भित्रबाट प्रहार गरेको बललाई गोलकिपर एलन न्यौपानले सहजै बचाएका थिए ।
रन्जित धिमालले ७४ औं मिनेटमा पाएको सुन्दर अवसरलाई सदुपयोग गर्न सकेनन् । डिबक्स नजिकै पाएको फ्रिकिकमा उनी गोल गर्र्न चुके ।
लगत्तै एडेलाजाको हेड बल बारको माथिबाट बाहिरिएको थियो ।
खेलको ७३ मिनेटमा च्यासल दोस्रो गोल नजिक पुगेको थियो । हेमन्त थापा मगरको फ्रिकिक मछिन्द्र गोलरक्षक विशाल श्रेष्ठले पन्च गरेर बचाए ।
मछिन्द्रले सुजल श्रेष्ठ र हेमन गुरुङलाई आराम दिएको थियो । दुबै खेलाडी अहिले फिट छैनन् ।
अन्तिम मिनेटमा जापानका ताईका नाकामुराको फ्रिकिक बिशालले उत्कृष्ट बचाउ गरेपछि च्यासल बराबरीमा रोकिएको थियो ।
के भन्छन् प्रशिक्षक ?
मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले तीन अंक जोड्ने प्रयास असफल भएको बताए ।
'तीन अंकको लागि आएको थियौ तर सफल भएनौ । सुरुमा गोल खादा प्रेसर भयो । हार्न लागेका थियौ बराबरले खुसी छौँ,' उनले भने ।
च्यासलका प्रशिक्षक बाल गोपाल शाहुखलले खेलाडीले सोचेजस्तै प्रदर्शन गरेको बताए ।
'सोचेजस्तो खेल भयो । दोस्रो हाफमा खेलाडी अलि थाके । आफ्नै टेक्निकल मिस्टेकले गर्दा गोल खायौं,' उनले भने ।
च्यासल प्लेईङ सेट -
एलेन न्यौपाने, अमिर श्रेष्ठ, सन्तोष शाहुखल, सुनिल बल, नितिन थापा, हेमन्त थापा मगर, छिरिङ गुरुङ, अविशेक लिम्बु, हायातो वाकिनो, ताइगा नाकामुरा, नरेन्द्र चौधरी
मछिन्द्र प्लेईङ सेट -
रञ्जित धिमाल, बिराज महर्जन, दिपक राई, विशाल श्रेष्ठ,देवेन्द्र तामाङ, योगेश गुरुङ, अविशेक रिजाल, विशाल राई, आन्द्रेस निया, पिटर सेगुन, सोमिडे एडिलाजा