काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाइजले लिगको दोस्रो खेलमा कुपन्डोलको फ्रेन्ड्स क्लबको सामना गर्दैछ ।
शुक्रबार दशरथ रंगशालामा फ्रेन्ड्स र ब्रिगेड ब्वाइज भिड्न लागेका हुन् । खेल दिनको ३ बजे सुरु हुनेछ ।
यसअघि पहिलो चरणमा पराजित दुबै टिम अंक जोड्ने प्रयासमा हुनेछन् ।
पहिलो खेलमा ब्रिगेड क्लब मछिन्द्रसँग २–० गोल अन्तरले पराजित भएको थियो । फ्रेन्ड्स भने त्रिभुवन आर्मीसँग २–१ गोल अन्तरले हारेको थियो ।
पहिलो दिन आफ्ना तीन ब्राजेलीयन खेलाडी खेलाउन नपाएको फ्रेन्ड्सले ब्रिगेडविरुद्ध भने मैदान उत्रानेछ । तीन जनै खेलाडीले आर्मीविरुद्ध भिषा प्रक्रियाका कारण खेल्न पाएका थिएनन् ।
यस्तो अवस्थामा फ्रेन्ड्स गत सिजन ब्रिगेडसंग हारको बदला लिन चाहन्छ । गत सिजन फ्रेन्ड्स ब्रिगेडसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
फ्रेन्ड्स क्लबका सहायक प्रशिक्षक शुक्र तामाङ ब्रिगेडविरुद्ध तीन अंकका लागि खेल्ने बताउँछन् ।
‘पहिलो खेलमै सेट टिम खेलाउन पाएनौं । त्यसैले पराजित भयौं । अब विदेशी खेलाडी खेल्न पाउँछन् । ब्रिगेडविरुद्ध तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
ब्रिगेड ब्वाईज युवा खेलाडी र केही अनुभवी खेलाडीको साथमा फ्रेन्ड्सविरुद्ध जित निकाल्ने दाउमा हुनेछ ।
पहिलो खेलमा विदेशी खेलाडी खेलाउन नपाएको ब्रिगेडले शुक्रबार एक विदेशी डिफेन्डर मैदान उतार्ने योजना बनाएको छ । ब्रिगेड ब्वाईजका ब्यवस्थापक अर्विन कार्की फ्रेन्ड्सविरुद्ध तीन अंकका लागि खेल्ने बताउँछन् ।
‘सुरुवाती दिनकै सेटमा हुन्छ । पहिलो दिनको सेटमा एक विदेशी खेलाडी आउनेछन् । फ्रेन्ड्सविरुद्ध तीन अंकका लागि प्रतिस्पर्धा गर्नेछौं ।’ उनले भने ।