काठमाडौं । लिगको पहिलो चरणमा स्पष्ट जित निकाल्ने टिममा पर्छन्, च्यासल युथ क्लब र मछिन्द्र क्लब । दुबै क्लब लिगका उपाधि दाबेदार पनि हुन् । राष्ट्रिय टिमका अधिकांश खेलाडी बोकेका दुवै क्लब दोस्रो चरणमै आमने सामने हुदैछन् ।
च्यासल र मछिन्द्रबिचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा हुनेछ । खेल मध्यान्न १२ बजे सुरु हुनेछ । राष्ट्रिय टिमका अनुभवी खेलाडीसहित मैदान उत्रदै गर्दा दुवै टिम स्पष्ट जित निकाल्दै अघि बढ्न चाहन्छन् ।
यसअघि लिगको पहिलो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई र च्यासलले गत सिजनको उपविजेता संकटालाई समान २–० गोल अन्तरले हराएका थिए ।
गत सिजन लिगको पुछारमा रहेको मछिन्द्रले सुरुवातमा एक अंक गुमाएर नयाँ सिजनको सुरुवात गरेको थियो । सोही कारण मछिन्द्र २ अंक सहित लिगको चौथो स्थानमा छ ।
ऋण अंकबाट लिगको सुरुवात गरेको मछिन्द्रमाथि च्यासल दबाब बनाउने योजनामा छ । उसले पहिलो खेलमा संकटालाई हराएर ३ अंक हासिल गरेको थियो । च्यासल स्टार खेलाडीले भरिएको मछिन्द्रलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लिन चाहन्छ ।
सन्तोष साहुखलको कप्तानीमा रहेको च्यासलका प्रशिक्षक बालगोपाल साहुखल मछिन्द्र राम्रो टिम भएपनि स्पष्ट जितका लािग खेल्ने बताउँछन् ।
‘मछिन्द्र राम्रो टिम हो । हामी जित्नको लागि मैदान उत्रन्छौं ।’ उनी भन्छन् ।
पहिलो खेलमा च्यासलले भिषा प्रक्रियामा ढिला हुँदा तीन जापानी खेलाडी मैदान उतार्न पाएको थिएन । मछिन्द्रबिरुद्ध भने उसले तीनवटै खेलाडी मैदान खेलाउन पाउनेछ ।
प्रशिक्षक साहुखलले बलियो मछिन्द्रले आक्रमक फुटबल खेल्ने हुँदा आफुहरु पनि आक्रमणमै जोड दिने बताउँछन् ।
गत सिजनको लिगमा दुवै क्लबले गोलरहित बराबरी खेलेका थिए ।
यता, मछिन्द्र क्लब पनि च्यासलविरुद्ध जितको लागि खेल्ने बताउँछ । क्लबका कप्तान विराज महर्जन च्यासलविरुद्ध तीन अंकका लागि खेल्न टिम तयार रहेको बताउँछन् ।
‘टिम पुर्ण रुपमा तयारी छ । च्यासलविरुद्ध तीन अंकका लागि खेल्दैछौं । उनी भन्छन् ।
विदेशी खेलाडीको भिषा प्रक्रियामै रहेका कारण मछिन्द्र पहिलो खेलको सेट सहित मैदान उत्रनेछ ।