एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आज (बुधबार) राति हुँदैछ ।
सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई आथित्यमा प्रदान गर्दैछ । क्याम्प नाउमा नेपाली समय अनुसार राति १२:४५ बजे खेल सुरु हुनेछ ।
पहिलो एल क्लासिको भिडन्त गत अक्टोबर २६ मा तय भएपनि क्याटलोनियामा हुन सक्ने आन्दोलनलाई मध्ये नजर गर्दै खेल सारिएको थियो ।
सिजनको पहिलो भेटका लागि दुवै टिम तयार रहेका छन् । र, दुवै टिम जित निकाल्दै आफुलाई उपाधिको प्रमुख दाबेदार रहेको प्रमाणित गर्न चाहन्छन ।
रियलका मुख्य प्रशिक्षक जिनेदान जिदानले ९० मिनेट मैदानमा उत्कृष्ट खेल्ने बताएका छन् ।
'यस किसिमको खेलमा हामीले ९० मिनेट राम्रो खेल्नु पर्ने हुन्छ,' जिदानले भनेका छन्, 'हाम्रो लागि केहि फरक छ । तर, हामी यहाँ राम्रो गर्ने छौँ ।'
बार्सिलोनाका मुख्य प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले पाहुना टिमलाई घरेलु मैदानमा सम्मान गर्ने बताए ।
'हामी सधैको जस्तो उत्कृष्ट खेल खेल्ने छौँ । भोली खेल्न नस्कनुको कुनै कारण छैन,' उनले भने, 'हामी उनीहरुलाई सम्मान गर्छौं ।'
लिगको १६ खेल सकिदा दुवै टोलीले समान ३५ अंक जोडेका छन् । तर, गोल अन्तरमा बार्सिलोना शीर्ष र रियल दोस्रो स्थानमा रहेका छन् ।
त्यसैले दुवै टिम पहिलो एल क्लासिकोमा जित निकाल्दै स्पस्ट ३ अंकको अग्रता कायम गर्न चाहन्छ ।
बार्सिलोनाविरुद्ध रियललाई खेलाडीले चोटले केहि सताउने छ । इडेन हाजार्ड, लुकास भास्क्वेज, मार्सेलो लगायतका खेलाडी टिममा हुने छैनन् ।
बार्सिलोनाका ओसुमाने डेम्बेले खेल्ने छैनन् ।