काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले गत सिजन कीर्तिमानी आठौं पटक लिगको उपाधि जितेको थियो ।
तर, घरेलु फुटबलमा सफल क्लब मनाङलाई यस सिजन भने गाह्रो पर्ने देखिएको छ । किनकी लामो समयबाट क्लबमा रहेका खेलाडीले यस सिजन मनाङको साथ छोडेका छन् ।
लामो समय मनाङमा रहेका मिडफिल्डर सुजल श्रेष्ठ, विशाल राई, गोलकिपर विशाल श्रेष्ठ लगायत हेमन गुरुङ र कप्तान विराज महर्जनले यस सिजन टिम छाडेका छन् ।
यस्तै एएफसी कपका लागि टिममा रहेका अभिषेक रिजाल र देबेन्द्र तामाङ सहित गत सिजन उत्कृष्ट खेलेका विदेशी खेलाडी एडेलाजा सोमिडे र ओलावाले आफिजले पनि मनाङ छाडेका छन् ।
यस्तो अवस्थामा मनाङले बुधबार विभागीय टिम एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दै सहिद स्मारक 'ए' डिभिजन लिगमा नयाँ सिजनको सुरुवात गर्दैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
पहिलो पटक मनाङ राष्ट्रिय टिमका खेलाडी बिना मैदान उत्रदैछ । 'ए' डिभिजन लिगमा बढुवा भएपछि मनाङसँग राष्ट्रिय टिमका खेलाडी नभएको पहिलो पटक हो ।
मनाङसँग राष्ट्रिय टिमका सदस्य अन्जन बिष्ट थिए । तर, उनी डिस्को काण्डमा मुछिदा ४५ दिनको कारबाही छन् । जसको कारण अन्जनले लिगको आधा सिजन खेल्न पाउने छैनन् ।
खेलाडीले साथ छाड्दा साविक विजेता मनाङ लिगको उपाधि रक्षा गर्न कोशिश गर्ने अवस्थामा पुगेको छ । तर, मनाङ पहिलो खेलमा तीन अंक जोड्ने योजनासहित नै मैदान उत्रने छ ।
'हामीसँग अहिले खेलाडी छैनन् । हामीलाई गाह्रो छ । जति खेलाडी छन् उनीहरुबाटनै लिग जित्न कोशिश गर्छौ,' मनाङका प्रशिक्षक फुजा तोपे भन्छन् ।
गत सिजन फुजाले एएफसी 'ए' लाईसेन्स गरेका सुमन श्रेष्ठलाई टच लाइनमा उतार्दै मनाङलाई कीर्तिमानी आठौं पटक लिगको उपाधि दिलाएका थिए । यस सिजन सुमनको स्थान धनेश्वर प्रजापतिले लिनेछन् । ध गत सिजन उनले मछिन्द्र हेरेका थिए ।
यस पटक मनाङको कप्तानी डिफेन्डर कमल श्रेष्ठले गर्नेछन् । यस्तै आदित्य चौधरिले लिगमा मनाङको जर्सीबाट पुनरागमन गर्दैछन् । अन्जनका दाजु रन्जन बिष्ट पनि मनाङबाट लिग खेल्नेछन् ।
गत सिजनको भेटमा एपीएफविरुद्ध मनाङले खेल जितेको थियो । क्लब छाडेर मछिन्द्र गएका एडेलाजा म्यान अफ दि म्याच भएको खेलमा मनाङ २-० गोल अन्तरले विजयी भएको थियो ।
यस सिजनको पहिलो भेटमा भने एपीएफ सचेत भएर मैदान उत्रने छ ।
एपीएफका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ पहिलो खेलमा मनाङसँग सचेत रहदै तीन अंकको लागि खेल्ने बताउछन् ।
'मनाङ बलियो टिम हो । उनीहरुसँग अहिले केही खेलाडी छैनन् । तर, उनीहरु राम्रो छ । डिफेन्डिङ च्याम्पियन हो । हामी सचेत भएर खेल्छौ,' मुख्य प्रशिक्षक तामाङले भने ।
प्रशिक्षक तामाङले मनाङले अट्याकिङ फुटबल खेल्ने हुदा त्यहिँ अनुसारको योजना बनाएर मैदान उत्रने बताए ।
'मनाङको अट्याकिङ राम्रो छ । उस्ले अट्याकमै खेल्छ । हामी पनि जित्नकै लागि खेल्छौ,' उनले थपे ।
गत सिजन २३ अंक जोडेको एपीएफ पाँचौ स्थानमा रहेको थियो ।